गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज प्रेस क्लब अफ सिक्किम (पीएससी) का नवनिर्वाचित अध्यक्ष समिरहाङ लिम्बूको नेतृत्वमा आएको नयाँ कार्यसमितिसँग विशेष भेटघाट गर्नुभएको छ। मुख्यमन्त्रीको सरकारी निवासमा भएको यस भेटघाटमा उहाँले नयाँ कार्यसमितिलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
नवगठित टोली युवा ऊर्जा, उत्साह र अनुभवको उत्कृष्ट मिश्रण रहेको उल्लेख गर्दै मुख्यमन्त्री गोलेले यो कार्यसमितिले सञ्चार जगत् र समग्र समाजको हितका लागि प्रेस क्लबको भूमिकालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। भेटघाटका क्रममा मुख्यमन्त्रीले पत्रकारहरूको हितका लागि राज्य सरकारद्वारा उपलब्ध गराइँदै आएका विभिन्न सेवा-सुविधा तथा कल्याणकारी योजनाहरूको वर्तमान अवस्था र प्रभावकारिताबारे पनि चासो लिनुभएको थियो।
प्रेस क्लबको आगामी स्थापना दिवसको भव्य सफलताको कामना गर्दै मुख्यमन्त्रीले राज्यमा जिम्मेवार पत्रकारिताको प्रवर्द्धन गर्न र सञ्चार क्षेत्रलाई थप सुदृढ बनाउन प्रेस क्लब अफ सिक्किमले आगामी दिनमा पनि निरन्तर योगदान पुर्याउने आशा व्यक्त गर्नुभयो।









