खरसाङ: चिया श्रमिकहरूको कल्याणका लागि लगभग ३१३.३० करोड रुपियाँ बराबरको योजनाको प्रक्रिया अगाडि बढिरहेको खबर अत्यन्तै सकारात्मक र स्वागतयोग्य छ भनी भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला मिडिया प्रभारी एंव तीनधारे महानदी मण्डलको संयोजक चन्दन प्रसादले बताएका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘विगतका सरकारहरूले चिया श्रमिकहरूको समस्या समाधानमा आवश्यक गम्भीरता देखाउन नसकेको अनुभूति धेरै वर्षसम्म रह्यो। तर दार्जिलिङका सांसद राजु बिष्टले चुनाव अघिदेखि नै चिया श्रमिकहरूको हक, अधिकार र सम्मानजनक जीवन सुनिश्चित गर्न निरन्तर आवाज उठाउँदै आएका थिए। उनको पहल तथा निरन्तर प्रयासकै परिणामस्वरूप आज चिया बगानका श्रमिकहरूको हितमा ठोस कदमहरू अघि बढिरहेका छन्। यसले प्रधानमन्त्री नरेन्द्र मोदी चिया श्रमिकहरूको समृद्धि र कल्याणप्रति कति प्रतिबद्ध हुनुहुन्छ भन्ने स्पष्ट देखाउँछ। यसको साथै मुख्यमन्त्री सुभेन्दु अधिकारीले पनि चिया बगानका श्रमिकहरूको शिक्षा, स्वास्थ्य, आवास र जीवनस्तर सुधारप्रति गम्भीर चासोका साथ काम गरिरहनुभएको सकारात्मक सन्देश दिएको छ।’
चन्दन प्रसादले अघि भने, ‘सबै परिवर्तन एकैदिनमा सम्भव हुँदैन, तर सही दिशा र दृढ इच्छाशक्तिका साथ सुरु गरिएको यो पहल चिया श्रमिकहरूको भविष्य उज्यालो बनाउने महत्वपूर्ण कदम हो।
यस ऐतिहासिक पहलका लागि प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री सुभेन्दु अधिकारी तथा दार्जिलिङका सांसद राजु विष्प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। आगामी दिनहरूमा पनि चिया श्रमिकहरूको हितमा यस्ता जनमुखी योजनाहरू निरन्तर अघि बढून् भन्ने शुभकामना व्यक्त गर्दछु।’









