खरसाङ: खरसाङ सुपर लीग फूटबल टुर्नामेण्टको तेस्रो संस्करण आइतवारदेखि शुरु भयो। खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा हुने यस २ स्तरीय लीगअन्तर्गत आज बी डीविजनको २ वटा म्याच खेलियो। दुवै म्याचमा गोलको वर्षा भयो। पहिलो म्याचमा वाईजीएफसीले सिमानाटार केएनएस क्लबविरुद्ध १०-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट अभिषेक शर्माले ४ गोल गरे। यसबाहेक प्रज्वल राई र अनिकेत तामाङ ले २-२ गोल गरे। यसरी वांगचुक तामाङ र एरोन तामाङले पनि १-१ गोल गरे। सिमानाटार केएनएस क्लबको तर्फबाट अखिल तामाङले १ गोल गरे। विजेता टीमलाई ३ अंक हासिल भयो। वाईजीएफसी टीमका सोहित प्रधानलाई प्लेयर अफ द म्याच चयन गरियो। यसरी दोस्रो म्याचमा अली बक्स ले जेआर३२ फूटबल एकाडमीविरुद्ध १५-० ले जीत हासिल गऱ्यो। प्लेयर अफ द म्याच रहने विजेता टीमका मचिन्द्र प्रधानले डबल ह्याट्रिक गरे। यसबाहेक लाक्पा वाइबा र सञ्जय राउतले पनि २-२ गोल गरे। आज दुवै म्याचको सञ्चालन हिल रेफरीज एसोसिएशनका अधिकारीहरूले गरे। नितेश देवान र रेबिका प्रधान मुख्य रेफरी थिए। सहायक रेफरीको भूमिकामा सौरभ शंकर र मनीष थापा थिए। उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा सीनियर भारतीय महिला फूटबल टीमका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्री उपस्थित थिए। सबै म्याचहरू गोथल्स मेमोरियल स्कूल मैदानमा खेलिनेछ।









