१२ सय मेगावाटको कलई-दोस्रो जलविद्युत परियोजनालाई स्थानीयको पूर्ण सहमति
ईटानगर: मुख्यमन्त्री पेमा खाण्डुले अञ्जाव जिल्लाको वातोङ गाउँका बासिन्दाहरूसँग भेटघाट गरी राष्ट्रिय गौरवको कलई-दोस्रो जलविद्युत परियोजना (१२०० मेगावाट) का विषयमा छलफल गरेका छन्। मन्त्रीद्वय दासंगलु पुल र मामा नतुङको विशेष उपस्थितिमा भएको उक्त छलफलका क्रममा स्थानीय बासिन्दाहरूले प्रस्तावित परियोजनालाई पूर्ण समर्थन जनाएका छन्।
भेटघाटपछि मुख्यमन्त्री खाण्डुले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी व्यक्त गर्दै वातोङबासीले परियोजनाका लागि सर्वसम्मतिले स्वीकृति दिएको जानकारी गराएका हुन्।
”वातोङ गाउँका आदरणीय बासिन्दाहरूले यो ऐतिहासिक कलई-दोस्रो जलविद्युत परियोजनालाई खुला हृदयले स्वागत गर्दै आफ्नो सहमति दिनुभएको थाहा पाउँदा निकै खुसी लागेको छ,” मुख्यमन्त्री खाण्डुले लेखेका छन्।
यसका साथै मुख्यमन्त्री खाण्डुले यो महत्वपूर्ण परियोजना स्वीकृत गरिदिएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हार्दिक आभार प्रकट गरेका छन्। यो जलविद्युत परियोजनाले अरुणाचल प्रदेशको चौतर्फी विकास, ऊर्जा सुरक्षा र स्थानीय स्तरमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्न ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ।










