खरसाङ: सिलगढीलाई छुट्टै जिल्ला बनाउँदा दार्जिलिङ पहाडलाई धेरै असुविधा हुने र गोर्खाल्याण्डको मागलाई धक्का पुग्ने भनी गोर्खाल्याण्ड एक्टिभिष्ट समूहले बताएको छ। सिलगढीलाई छुट्टै जिल्ला बनाउने विषयमा खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर गोर्खाल्याण्ड एक्टिभिष्ट समूहले यसको विरोध जनाएका छन्। गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको तर्फबाट युवा प्रभारी आदर्श मंगर र कोर कमिटी सदस्य दिप राईले पत्रकारहरुलाई सम्बोधन गर्दै मतिगढा नक्सलबारीका विधायक आनन्दमय बर्मनले मुख्यमन्त्रीलाई पत्रचार गरेर सिलगढीलाई छुट्टै जिल्ला बनाउने माग गरेपछि यसले तुल पक्रेको बताएका छन्। यस विषयमा गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको तर्फबाट यस विषयमा गत २ जूनको दिन मुख्यमन्त्रीलाई पत्रचार गरेको जानकारी गराएका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको तर्फबाट युवा प्रभारी आदर्श मंगरले सिलगढीलाई छुट्टै जिल्ला बनाए हामीलाई के कस्तो असुविधा हुन्छ र हामीले पुराना कुरा कसरी दर्शाउन सक्छौं साथै यस विषयमा गोर्खाहरुले के गर्नु पर्ने भन्ने विषयमा गोर्खाल्याण्ड एक्टिभिष्ट समूहले काम गरिरहेको बताए। उनले भने, सिलगढी हामी गोर्खाहरुको हो भन्न चाहान्छौं कारण १९४७ पछि पनि सिलगढी गोर्खाहरु मात्रै बस्ने गरेको पाउँछौं र अहिलको फाइभ जी पुस्ताले गुगल गर्दा पनि सिलगढीको इतिहास पाउँछौं। तर अहिले आएर सिलगढीमा गोर्खाहरु कसरी अल्पसंख्यक बने। यस विषयमा भौगोलिक, प्रशासनिक रुपमा छुटाइयो।’ उनले सिलगढी अलग जिल्ला भएपछि हामीलाई धेरै असुविधा हुन्छ भन्दै यस विषयमा मिडियाले पनि सक्रिय प्रचार प्रसार गरिदिने निवेदन गरेका छन्। आदर्श मंगरले अझ भने, ‘सिलगढीमा पुरानो इतिहास हेर्दा तिलकबहादुर छेत्रीको तिलक मैदान, बाघवीर गुरुङ, गुरुङ बस्ती लगायत अन्य थुप्रै उदाहरणहरु छन् जसले गर्दा सिलगढीमा गोर्खा नेपालीहरुको अस्तित्व थियो। तर सिलगढीलाई अलग्गै जिल्ला बनाइए गोर्खाल्याण्डको आवाजलाई धक्का पुग्न सक्छ। हाम्रो मागलाई धक्का दिनलाई नै सरकारले सिलगढीलाई छुट्टै जिल्ला बनाउने प्रयास गरेको हुनसक्छ। अन्तर्राष्ट्रिय सीमाना भएको चिकेन नेक सिलगढीलाई छुट्टै जिल्ला बनाउँदा भारतीय गोर्खाहरुको एक मात्र माग गोर्खाल्याण्ड हो।’
त्यसरी नै गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको कोर कमिटी सदस्य दिप राईले सम्बोधन गर्दै दार्जिलिङबाट सिलगढीलाई अलग गर्ने चलखेल भईरहेछ र यसले गर्दा गोर्खाल्याण्डलाई वाधा पुग्छ भनी बताएका छन्। उनले गोर्खाल्याण्डलाई दबाउन यो कुराको चलखेल भईरहेको दावी गरेका छन्। उनले सिलगढीलाई छुट्टै जिल्ला बनाउने विषयमा गोर्खाहरुले विरोध गर्नुपर्छ भन्दै हामी जहिले भईसकेर विरोध गर्छौं तर हुनभन्दा अघि नै यसको विरोध गर्नुपर्छ भनी बताएका छन्। उनले यस विषयमा गोर्खाल्याण्ड एक्टिभिष्ट समूहले मुख्यमन्त्रीलाई पत्रचार गरेको पनि बताए।










