खरसाङ: फिफा विश्व कप २०२६ फुटबललाई स्वागत गर्दै खरसाङ महकुमा खेलकूद संघद्वारा पछिल्लो संस्करणहरु जस्तै खरसाङमा आईतवार बिभिन्न खेलकूद संस्था एवं खेलप्रेमीहरुलाई लिएर एउटा ऱ्यालीको आयोजना गर्ने भएको छ। आगामी १२ जूनदेखि खेलहरुको महाकुम्भ मानिने फिफा विश्व कप २०२६ पुरुष फुटबलको २३औं संस्करण प्रारम्भ भइरहेको छ। यसपाली यो विश्व कप फुटबल प्रतियोगिता अमेरिका, क्यानाडा अनि मेक्सिकोमा भइरहेको छ भने पछिल्लो संस्करणमा भाग लिने देशहरुको तुलनामा यो पाली 48 वटा देशहरुमा प्रतिस्पर्धा गरिरहेका छन्।पछिल्लो संस्करणसम्म केवल ३२ वटा देशहरुले मात्र यो महाकुम्भमा भाग लिन पाउँथे। यसै कुरोलाई ध्यानमा राख्दै पहाडको एक सक्रिय खेलकूद संस्था खरसाङ महकुमा खेलकूद संघले आईतवार अर्थात् ७ जून २०२६ को दिन खरसाङमा एउटा ऱ्यालीको आयोजना गरेको छ। उक्त ऱ्याली बिहान १०:३० बजी शुरु हुने भएको छ भने ऱ्याली खरसाङको मोटर स्ट्याण्डदेखि शुरु भएर अस्पताल मोड़, बर्ध्दवान रोड भई पुनः मोटर स्ट्याण्डमा आएर समाप्त हुने भएको छ।

यस विषयलाई लिएर आज खरसाङ महकुमा खेलकूद संघ कार्यालयमा एउटा जरुरी सभा संघका अध्यक्ष मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भयो। सभालाई संघका सचिव निर्मल गुरुङले सञ्चालन गरेका थिए भने सभा शुरु हुन अघि निधन भएका संघका दुई कर्मठ सदस्यहरु स्व मोहन राई अनि स्व बसन्त सिंहको आत्मा शान्तिको प्रार्थना स्वरूप एक मिनटको मौन धारण गरियो। सभाले वर्षायाममा संघले खेलाउने इन्डोर खेलहरुबारे पनि चर्चा गरे भने यसको निम्ति सदस्यहरुलाई जिम्मेवारी पनि सुम्पियो। सभापछि संघका सचिव निर्मल गुरुङले आईतवार हुने ऱ्यालीबारे पत्रकारहरुलाई जानकारी दिँदै विगतको संस्करणहरुमा पनि संघले यस प्रकारको ऱ्याली निकाल्ने गरेको जसको मुख्य उद्देश्य हाम्रो भावी फुटबल खेलाडीहरुलाई प्रोत्साहित गर्ने र कसरी सात समुन्द्र पार भइरहको फिफा विश्व कप २०२६ फुटबललाई लिएर हामी उत्साहित छौं। जब कि यस खेल महाकुम्भमा हाम्रो देश भारतले अंश ग्रहण पनि गरिरहेको छैन, न त आयोजना नै गरिरहेको छ l यदि भविष्यमा हाम्रो देशले भाग लिने मौका पाए झन् हामी भारतवासीको कस्तो रुपले यसलाई मनाउने छ, त्यो हामीले सोच्न पनि सक्दैनौ भन्दै यही सपनालाई बोकेर हाम्रो नानीहरुलाई अघि आउने आह्वानको साथ उक्त ऱ्याली निकालिने गुरुङले जानकारी दिएका छन्। यसको साथै सचिव गुरुङले आईतवार सम्पन्न हुन् गइरहेको ऱ्यालीमा खरसाङको सबै खेलसँग सम्बन्धित संघ संस्थानहरुलाई पत्राचार गरिएको जानकारी दिदै यस ऱ्यालीमा खरसाङ वरिपरिका सबै सबै खेलप्रेमी महानुभावहरुलाई पनि आफ्नो सहभागिता जनाई दिएर यसलाई उत्सवको रुपमा पालन गरिदिने अपिल गरेका छन्। उक्त ऱ्याली आईतवार बिहान १०:३० बजी खरसाङको मोटर स्ट्याण्डदेखि शुरु भएर अस्पताल मोड़, वर्ध्दवान रोड भइ पुन खरसाङको मोटर स्ट्याण्डमा आएर समाप्त हुने भएको छ।











