गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले मितव्ययिता तथा जिम्मेवार शासनप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्दै सोमबार सार्वजनिक यातायात प्रयोग गरेका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किम प्रिमियर लिगको अन्तिम खेल अवलोकन गर्न राज्य परिवहन निगमको नगर धावक बसमार्फत पल्जोर स्टेडियम पुगेका हुन्। यस अवसरमा उनले सर्वसाधारणलाई दैनिक जीवनमा सार्वजनिक यातायातको अधिक प्रयोग गर्न तथा जिम्मेवार आचरण अपनाउन आग्रह गरे। उनका अनुसार यस्ता साना तर अर्थपूर्ण प्रयासहरूले प्रशासनिक कार्यक्षमता सुदृढ बनाउन र स्रोतसाधनको संरक्षण गर्न महत्वपूर्ण योगदान पुर्याउन सक्छन्।मुख्यमन्त्रीले सामूहिक जिम्मेवारी र अनुशासित जीवनशैलीमार्फत राज्यलाई अझ व्यवस्थित र सक्षम बनाउने दिशामा सबै नागरिकले साथ दिनुपर्ने आवश्यकता पनि औँल्याए।









