गान्तोक: भारतीय निर्वाचन आयोग (ईसीआई) ले सिक्किमलगायत देशका १६ राज्य र ३ केन्द्र शासित प्रदेशहरूमा विशेष गहन पुनरीक्षण (एसआईआर) सञ्चालन गर्ने भएको छ। आगामी मे २० देखि सुरु हुने यो विशेष प्रक्रिया सेप्टेम्बर ६, २०२६ सम्म जारी रहने सिक्किमका मुख्य निर्वाचन अधिकारी राजकुमार यादवले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ। बलुवाखानीस्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यादवले यस एसआईआरको मुख्य उद्देश्य मतदाता सूचीबाट अयोग्य मतदाताहरूको नाम हटाएर नामावलीलाई परिमार्जित र शुद्ध बनाउनु रहेको प्रष्ट पार्नुभयो। यसअघि अन्तिम पटक सन् २००२ मा एसआईआर भएको जानकारी दिँदै उहाँले सो वर्षको मतदाता सूचीमा नाम समावेश भएका मतदाताहरूले यस पटक कुनै पनि प्रकारको दस्तावेज बुझाउनु नपर्ने स्पष्ट पार्नुभएको छ।
निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार मे २० देखि मे २९ सम्म आवश्यक तयारी, प्रशिक्षण र मुद्रण सम्बन्धी कामहरू हुनेछन् भने मे ३० देखि जुन ६ सम्म बीएलओहरूले घर-घरै पुगेर मतदाताहरूको विवरण संकलन गर्नेछन्। यसैगरी जुन २८ सम्ममा मतदान केन्द्रहरूको युक्तिकरण कार्य सम्पन्न गरी जुलाई ५ मा मस्यौदा मतदाता नामावली प्रकाशन गरिनेछ। मस्यौदा प्रकाशन भएपछि जुलाई ५ देखि अगस्ट ४ सम्म दाबी र आपत्तिहरू दर्ता गर्ने समय दिइनेछ भने जुलाई ५ देखि सेप्टेम्बर २ सम्म ती दाबी तथा आपत्तिहरूको चरणबद्ध सम्बोधन गरिनेछ। मुख्य निर्वाचन अधिकारी यादवका अनुसार सिक्किमसहित ओडिशा, मिजोरम र मणिपुर राज्यका मतदाताहरूको अन्तिम नामावली सेप्टेम्बर ६ मा प्रकाशित गरिनेछ। यसका साथै भारतीय निर्वाचन आयोगले सिक्किमका लागि ५४ वटा नयाँ मतदान केन्द्रहरू स्वीकृत गरेको छ भने सन् २००२ को सूचीमा नाम नभेटिएका योग्य मतदाताहरूका लागि आवश्यक दस्तावेज र सिक्किमेली पुरुषसँग विवाह गरेका विदेशी महिलाहरूको नामांकनका लागि तय गरिएका विशेष प्रावधानहरूबारे समेत जानकारी गराइएको छ।










