नाम्ची: जिल्ला आपदा व्यवस्थापन प्राधिकरण (डीडीएमए) नाम्चीको आयोजनामा मनसुनपूर्व तयारीसम्बन्धी जिल्ला स्तरीय बैठक आज सम्पन्न भएको छ। बैठक जिल्लापाल अनुपा तामलिङ को अध्यक्षतामा स्थानीय टाउन हलमा आयोजना गरिएको थियो।
बैठकमा जिल्ला परिषद् सदस्य, एडीसी, एसडीएम, बीडीओ, डीडीएमएका अधिकारीहरू, विभिन्न विभागका प्रमुख, आईआरबी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
जिल्लापाल तामलिङले मनसुनको समयमा सम्भावित पैह्रो, सडक अवरोध, आकस्मिक बाढी लगायत जोखिमलाई मध्यनजर गर्दै समयमै तयारी अपरिहार्य रहेको बताइन्। उनले सबै निकायलाई आवश्यक सावधानी तथा रोकथामका उपायहरू अग्रिम रूपमा कार्यान्वयन गर्न निर्देशन दिँदै आपदा व्यवस्थापनलाई साझा सामाजिक जिम्मेवारीका रूपमा लिन आग्रह गरिन्।
उनले सरोकारवालाबीच समन्वय संयन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिँदै ग्राम पञ्चायत एकाइ स्तरमै द्रुत प्रतिक्रिया टोली परिचालन गर्नुपर्ने आवश्यकता औंल्याइन्। साथै आगलागी जोखिम न्यूनीकरणका लागि घरायसी तहमा अग्नि सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्न आग्रह गरिन्। नाला सरसफाइ नियमित गर्नुपर्ने उल्लेख गर्दै उनले शहरी तथा ग्रामीण समुदायलाई सक्रिय सहभागिताका लागि अपीलसमेत गरिन्।
जिल्लापालले सम्बन्धित निकायहरूलाई आपसी समन्वयमा कार्य गर्न, सूचना समयमै प्रवाह गर्न तथा छिटो प्रतिक्रिया सुनिश्चित गर्न निर्देशन दिइन्। ग्राम स्तरमा आपतकालीन तयारी सुदृढ बनाउन सबै जीपीयूहरूमा गाउँ आपदा व्यवस्थापन योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिइएको छ।
बैठकले जोखिमयुक्त क्षेत्रमा उपकरण तथा उद्धार टोली पूर्वस्थितिमा राख्ने, जिल्ला तथा उपविभागीय नियन्त्रण कक्ष सक्रिय गर्ने, आपतकालीन सञ्चार प्रणाली मजबुत बनाउने, पैह्रो तथा बाढी जोखिम क्षेत्रको नियमित अनुगमन गर्ने र जनचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
कार्यक्रममा आयोजित खुला छलफल सत्रमा विभिन्न विभागका प्रतिनिधिहरूले आफ्ना सुझाव तथा आवश्यकताहरू प्रस्तुत गरेका थिए।










