पश्चिम बंगालमा संवैधानिक संकटको सङ्केत

Screenshot_20260505_200916_YouTube

ममता बनर्जीद्वारा राजीनामा दिन अस्वीकार, शुभेन्दु अधिकारीको संवैधानिक चेतावनी

काेलकाता: ​पश्चिम बंगालको चुनावी नतिजा सार्वजनिक भएपछि राज्यको राजनीतिमा गम्भीर संवैधानिक बहस सुरु भएको छ। निवर्तमान मुख्यमन्त्री ममता बनर्जीले चुनावी परिणामलाई स्वीकार गर्न अस्वीकार गर्दै आफ्नो पदबाट राजीनामा नदिने घोषणा गर्नुभएको छ। उहाँले आफूलाई षड्यन्त्रपूर्वक हराइएको दाबी गर्दै निर्वाचन आयोगको मिलेमतोमा विपक्षीले ‘चोरी’ गरेर जितेको आरोप लगाउनुभएको छ। ममता बनर्जीले आफू नैतिक रूपमा विजयी भएको उल्लेख गर्दै लोकभवन गएर राजीनामा बुझाउने कुनै आवश्यकता नरहेको स्पष्ट पार्नुभएको छ।
​यसैबीच, भारतीय जनता पार्टीका नवनिर्वाचित विधायक शुभेन्दु अधिकारीले ममता बनर्जीको अडानप्रति कडा प्रतिक्रिया दिनुभएको छ। उहाँले लोकतन्त्रमा हार र जीतको मर्यादा संविधानले तय गर्ने बताउँदै सबै कुरा संविधानमा स्पष्ट रूपमा लेखिएको उल्लेख गर्नुभयो। अधिकारीले ममता बनर्जीलाई संवैधानिक मर्यादाको पालना गर्न सुझाव दिँदै अबको प्रक्रिया कानुन बमोजिम अघि बढ्ने सङ्केत गर्नुभएको छ।
​अर्कोतर्फ, तृणमूल कांग्रेसका सांसद कल्याण बनर्जीले मुख्यमन्त्रीको बचाउ गर्दै एउटा नयाँ तर्क अघि सार्नुभएको छ। उहाँका अनुसार निर्वाचन आचारसंहिता लागू भएको पछिल्लो तीन महिनादेखि राज्यको प्रशासनिक जिम्मेवारी मुख्य सचिवको हातमा रहेकाले ममता बनर्जीले प्राविधिक रूपमा राजीनामा दिनु नपर्ने जिकिर गर्नुभएको छ। उहाँले मतगणनाका क्रममा केन्द्रीय सुरक्षा बलले धाँधली गरेको र आफ्ना एजेन्टहरूलाई कुटपिट गरी बाहिर निकालेको गम्भीर आरोप समेत लगाउनुभएको छ। हाल बंगालको राजनीति संवैधानिक र कानुनी लडाइँको मोडमा पुगेको देखिन्छ।

About Author

Advertisement