सिलगढी: गान्तोकको पाल्जोर स्टेडियममा आगामी १४ देखि २१ नोभेम्बरसम्म आयोजना हुन गइरहेको ४९औं जुनियर नेसनल ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नागाल्याण्ड, उत्तर प्रदेश, महाराष्ट्र र आन्ध्र प्रदेशका खेलाडी टोलीहरू आज न्यु जलपाइगुडी (एनजेपी) रेलवे स्टेसन आइपुगेका छन्।
स्टेसनमा आयोजक प्रबन्धन समितिका सदस्यहरू तथा एसएनटी, सिलगढीका अधिकारीहरूले खेलाडीहरूलाई परम्परागत सिक्किमेली खादा ओढाएर न्यानो स्वागत जनाए। एनजेपीमा केहीबेरको विश्रामपश्चात् सबै टोलीहरू प्रतियोगितामा भाग लिन गान्तोकतर्फ प्रस्थान गरेका छन्।
एक सातासम्म चल्ने यस राष्ट्रिय स्तरको खेलकुद महाकुम्भको पूर्वसन्ध्यामा बाहिरी राज्यका टोलीहरूको आगमनले सिक्किममा खेलकुदको रौनक सुरु भएको सङ्केत गरेको छ।
देशभरका युवा ब्याडमिन्टन प्रतिभाहरूलाई राष्ट्रिय मञ्चमा आफ्नो कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित यस च्याम्पियनसिपको भव्य उद्घाटन समारोह भोलि गान्तोकस्थित पाल्जोर स्टेडियममा सम्पन्न हुनेछ।





