४९औँ योनेक्स-सनराइज जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको व्यक्तिगत स्पर्धाको मुख्यमन्त्रीद्वारा उद्घाटन

FB_IMG_1794848139044

​गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज स्थानीय पाल्जोर रङ्गशालास्थित इन्डोर ब्याडमिन्टन हलमा ‘योनेक्स–सनराइज ४९औँ अन्तर–राज्य, अन्तर–क्षेत्रीय तथा जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०२६’ को व्यक्तिगत स्पर्धाको औपचारिक उद्घाटन गर्नुभएको छ।
​समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले देशका विभिन्न भागबाट आएका विशिष्ट अतिथि, खेलाडी, प्रशिक्षक तथा अधिकारीहरूलाई सिक्किममा हार्दिक स्वागत गर्नुभयो। यस प्रतिष्ठित प्रतियोगिताको आयोजना सिक्किमका लागि ऐतिहासिक कोसेढुङ्गा भएको उल्लेख गर्दै उहाँले यसले राष्ट्रिय खेलकुद मानचित्रमा सिक्किमको बढ्दो उपस्थितिलाई प्रतिबिम्बित गरेको बताउनुभयो।
​मुख्यमन्त्रीले सिक्किमलाई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी सुम्पिएकोमा भारतीय ब्याडमिन्टन सङ्घ (बीएआई) प्रति आभार व्यक्त गर्नुका साथै सङ्घका अध्यक्ष तथा असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माको सहयोग र प्रोत्साहनको सराहना गर्नुभयो। साथै उहाँले आयोजक सिक्किम ब्याडमिन्टन सङ्घ (बीएएस) तथा प्रतियोगिता सफल पार्न खटिने सम्पूर्ण टोलीको प्रशंसा गर्नुभयो।
​युवापुस्ताको व्यक्तित्व निर्माणमा खेलकुदको महत्वमाथि प्रकाश पार्दै मुख्यमन्त्रीले खेलकुद गतिविधिले अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र चरित्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। राज्य सरकार खेलकुद पूर्वाधार सुदृढ गर्न र युवा खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको उहाँले दोहोर्‍याउनुभयो। उहाँले युवा विकास, महिला सशक्तीकरण, स्वास्थ्य र खेलकुदमा समावेशी सहभागितामा सरकारले विशेष ध्यान दिइरहेको पनि स्पष्ट पार्नुभयो।
​यस च्याम्पियनसिपले उदीयमान ब्याडमिन्टन प्रतिभाहरूलाई महत्वपूर्ण मञ्च प्रदान गर्नुका साथै सिक्किमको खेल संस्कृतिलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै मुख्यमन्त्रीले सम्पूर्ण सहभागीहरूलाई सफलताको शुभकामना दिनुभयो। उहाँले खेलाडीहरूलाई खेल भावना र निष्पक्ष प्रतिस्पर्धाको मर्यादा कायम राख्न आग्रह गर्दै अतिथि टोलीहरूको सिक्किम बसाइ सुखद र स्मरणीय रहोस् भनी कामना गर्नुभयो।
​यसअघि राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा सिक्किम ब्याडमिन्टन सङ्घका अध्यक्ष ज्याकब खालिङले मुख्यमन्त्रीलाई खदा अर्पण गरी स्वागत गर्नुभएको थियो। आफ्नो स्वागत मन्तव्यमा अध्यक्ष खालिङले मुख्यमन्त्री, बीएआईका प्रतिनिधि, प्राविधिक अधिकारी तथा सहभागी टोलीहरूलाई स्वागत गर्दै यो च्याम्पियनसिप सिक्किमका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। प्रतियोगितामा २८ राज्य र ५ केन्द्र शासित प्रदेशका करिब ४६० खेलाडीसहित करिब ६०० प्रतिनिधिको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो। प्रतियोगितालाई राज्यस्तरीय कार्यक्रमको मान्यता प्रदान गरी निरन्तर सहयोग गरेकोमा उहाँले मुख्यमन्त्री र राज्य सरकारप्रति कृतज्ञता व्यक्त गर्दै अतिथिहरूलाई सिक्किमको परम्परागत न्यानो आतिथ्यको विश्वास दिलाउनुभयो।
​समारोहमा जोरेथाङ ब्याडमिन्टन सङ्घका अध्यक्ष विशाल मुखियाले मुख्यमन्त्रीलाई प्रतियोगिताको स्मृति चिह्न प्रदान गर्नुभयो। यसैगरी डच र जर्मन ओपन वर्ल्ड ग्रान्ड प्रिक्स २०२६ मा भारतको प्रतिनिधित्व गर्ने भारतीय जुनियर राष्ट्रिय टोलीका सदस्यहरू तथा गुजरात र असम ब्याडमिन्टन सङ्घका प्रतिनिधिहरूले पनि मुख्यमन्त्रीलाई विशेष स्मृति चिह्न प्रदान गरे। भारतीय जुनियर राष्ट्रिय टोलीले अध्यक्ष ज्याकब खालिङलाई समेत विशेष स्मृति चिह्न प्रदान गरेको थियो।
​कार्यक्रममा नर्थ सिक्किम एकेडेमी, मङ्गनका विद्यार्थीहरूले ‘थ्री रूट्स, वान सोल’ शीर्षकमा आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए। उत्तर–पूर्वी क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०२६ का कांस्य पदक विजेता सिक्किमका आंश धमलाले सम्पूर्ण सहभागी खेलाडीहरूको तर्फबाट शपथ ग्रहण गराएका थिए। मुख्यमन्त्रीले औपचारिक रूपमा प्रतियोगिता उद्घाटनको घोषणा गरेपछि सिक्किम ब्याडमिन्टन सङ्घका महासचिव सुकान्त दासले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
​उद्घाटन समारोहमा वन तथा वातावरण मन्त्री पिन्त्सो नाम्ग्याल लेप्चा, विधायक तथा सल्लाहकारहरू सञ्जीत खरेल, एलबी दास, मदन सिन्चुरी, विधायक तथा सार्वजनिक लेखा समितिका अध्यक्ष सोनाम भेन्चुङ्पा, मुख्य सचिव आर. तेलाङ, जिल्ला अध्यक्षहरू, सल्लाहकार, अध्यक्ष, ओएसडी, विभिन्न विभागका प्रमुखहरू, बीएआई र बीएएसका प्रतिनिधिहरू तथा राज्य सरकारका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement