इटानगर(अरुणाचल प्रदेश): अरुणाचल प्रदेश खेलकुदको क्षेत्रमा एक रोमाञ्चक गन्तव्यको रूपमा द्रुत गतिमा उदाउँदै, यहाँका प्रतिभा, उत्साह र खेल भावनाले देश-विदेशमा व्यापक पहिचान बनाउँदै गएको छ।
केन्द्रीय मन्त्री किरेन रिजिजूले हालै अरुणाचल प्रदेशको पश्चिम सियाङ जिल्लाको आलोमा आयोजित ‘एआर वर्ल्ड सिरिज च्याम्पियनसिप २०२६-क्वालिफायर’मा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउँदै उक्त कुरा व्यक्त गर्नुभएको हो। सो अवसरमा उहाँले यस्ता खेलकुद प्रतियोगिताहरूले खेलाडीहरूलाई बहुमूल्य मञ्च उपलब्ध गराउनुका साथै खेलकुदमा उत्कृष्टता हासिल गर्न प्रोत्साहन गर्ने र उत्तरपूर्व क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउन ठूलो सहयोग पुर्याउने विचार व्यक्त गर्नुभएको छ।

उक्त कार्यक्रममा अरुणाचल प्रदेश सरकारका माननीय मन्त्रीद्वय श्री पी.डी. सोना र श्री केन्टो जिनी, विधायकद्वय श्री टोपिन् एते र श्री मिन्दो लोयी, पश्चिम सियाङ जिल्लाका उपायुक्त श्री कार्डक रिबा, पुलिस अधीक्षक श्री न्याली बाग्रा, जिल्ला परिषद अध्यक्ष श्री न्याली बाग्रा लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्तमा केन्द्रीय मन्त्री रिजिजूले सम्पूर्ण सहभागी खेलाडीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ।





