कोलकाता: पश्चिम बङ्गाल सरकारका गृह तथा पर्वतीय मामिला राज्यमन्त्री विशाल लामाले भारतको समुद्री तथा तटीय सुरक्षा राष्ट्रिय सुरक्षा, आर्थिक समृद्धि र रणनीतिक हितको अभिन्न अङ्ग भएको बताउनुभएको छ।
भारत सरकारको गृह मन्त्रालयसँगको समन्वयमा भारतीय तटरक्षक बलद्वारा कोलकाताको न्यु टाउन, इको पार्कस्थित होटल ताज ताल कुटीरमा आयोजित दुई दिवसीय राष्ट्रिय स्तरको ‘कोस्टल सेक्युरिटी सेमिनार–२०२६’ (सागर सुरक्षा २०२६) मा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै राज्यमन्त्री लामाले उक्त धारणा राख्नुभएको हो। आज देखि सुरु भएको उक्त सेमिनार नोभेम्बर १७ सम्म सञ्चालन हुनेछ।

“प्रविधिमा आधारित तटीय सुरक्षाको भविष्य: बहु–निकाय प्रतिकार्यका लागि प्रविधि, एआई/एमएल र मानवीय गुप्तचरको संयोजन” भन्ने मूल विषयमा केन्द्रित उक्त सेमिनारलाई सम्बोधन गर्दै राज्यमन्त्री लामाले उदाउँदा समुद्री चुनौतीहरूको सामना गर्न र तटीय सुरक्षा संरचनालाई थप बलियो बनाउन आधुनिक प्रविधिको प्रभावकारी उपयोग, गुप्तचर सूचनाको आदानप्रदान र विभिन्न सुरक्षा निकायहरूबीचको निर्बाध समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
सो अवसरमा राज्यमन्त्री लामाले राष्ट्रिय स्तरको यस महत्वपूर्ण सेमिनारमा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी सम्मान प्रदान गरेकोमा भारतीय तटरक्षक बलप्रति हार्दिक आभार प्रकट गर्नुभयो।
कार्यक्रममा राज्य तथा केन्द्र सरकारका वरिष्ठ अधिकारीहरू, सशस्त्र बल, केन्द्रीय सशस्त्र पुलिस बल, समुद्री सुरक्षा निकायहरू तथा अन्य प्रमुख सरोकारवालाहरूको उच्चस्तरीय सहभागिता रहेको छ।





