गान्तोक: सिक्किमका राज्यपाल दुष्यन्त गौतमले आज राज्यकी प्रथम महिला लक्ष्मी गौतमका साथ लोकभवन परिसरस्थित कर्मचारीहरूको आवासीय क्वार्टरको निरीक्षण गरी त्यहाँ उपलब्ध आधारभूत सुविधा र मर्मतसम्भारको अवस्थाबारे जानकारी लिनुभएको छ। उक्त निरीक्षणका क्रममा राज्यपालका आयुक्त–सह–सचिव जितेन्द्र सिंह राजेको पनि उपस्थिति रहेको थियो।
निरीक्षणका क्रममा राज्यपालले विभिन्न आवासीय ब्लकहरूको भ्रमण गर्दै कर्मचारी तथा तिनका परिवारजनसँग संवाद गरी उनीहरूका आवश्यकताहरूबारे बुझ्नुभयो। सो अवसरमा उहाँले आवासहरूको वर्तमान स्थिति, सरसफाइ, खानेपानी आपूर्ति तथा अन्य आवश्यक व्यवस्थाहरूको समेत अवलोकन गर्नुभएको थियो। धेरैजसो आवासहरूको अवस्था हेरेर राज्यपालले तिनको मर्मत तथा आवश्यक सुधारका लागि महत्वपूर्ण सुझावहरू दिनुभएको छ।
कार्यक्रममा कर्मचारीहरूलाई सम्बोधन गर्दै राज्यपाल गौतमले आफूसँग आबद्ध प्रत्येक कर्मचारीका लागि उचित सुविधाको व्यवस्था गर्नु आफ्नो सर्वोच्च प्राथमिकता रहेको बताउनुभयो। उहाँले राजभवनको सुचारु सञ्चालनमा कर्मचारीहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरू र तिनका परिवारलाई बस्नका लागि स्वच्छ, सुरक्षित तथा मर्यादित जीवन–परिवेश प्रदान गर्नु आफ्नो दायित्व भएको स्पष्ट पार्नुभयो।





