कालचिनी: डुवर्समा नै प्रथमपल्ट यसपाली कालचिनी खण्डको भारत भोटाङ सिमान्त जयगाउँ सहरमा ११ हजार शिवलिङ्गलाई साक्षी राखेर शिव महापुराण सम्पन्न हुने भएको छ। उल्लेखनीय के छ भने उक्त शिव महापुराणमा बौद्ध धर्म संस्थाको सहयोगिता रहने बताईएको छ। आज उक्त कुराको जानकारी शिव महापुराण कमिटी र जयगाउँ कुन्फे छोग्पा कमिटीको संयुक्त पत्रकार भेला मार्फत दिएको हो। पत्रकार भेलालाई सम्बोधन गर्दै शिव महापुराण कमिटीको पक्षबाट मंगल गिरी र वाङ्गेल लामाले आगामी २ अगस्तको दिनदेखि १२ अगस्तसम्म प्रायः १० दिवसीय शिव महापुराणमा ११ हजार शिवलिङ्गको पूजामा १ लाख २५ हजार दीप प्रज्वलन गरिने जनाएका छन।
दिनभरि शिव महापुराण कथावाचन हुने र साँझबाट बौद्ध लामा धर्मगुरुहरूद्वारा मोलमपाठ र प्रवचन सम्पन्न हुने बताईएको छ। मूलतः हिन्दू धर्म र बौद्ध धर्मको एकअर्काको प्रगाढ़ सम्बन्ध र भातृत्व औ सौहार्दता कायमको सन्देश दिनलाई एवम् क्षेत्रमा मात्र नभएर मानवमात्रलाई अध्यात्मिक सन्देश दिनलाई यो कार्यक्रम तय गरिएको कमिटीको सदस्यहरुले जनाएका छन्। २ अगस्तको दिन कलशयात्रा मार्फत शिव महापुराणको शुरुवात गरिने छ भने आगामी १० अगस्तसम्म प्रायः ११ दिवसीय यो कार्यक्रम चल्ने कमिटीको सदस्यहरु वाङ्गेल लामा, सञ्जीव लामा, पण्डित रवि घिमिरे, कृष्ण पोखरेल र विष्णु घिमिरेले संयुक्त रुपमा जनाएका छन्।










