ऐतिहासिक चुवापाड़ा एयरफील्ड नदीको बगरमा परिणत

IMG-20220716-WA0194.jpg

कालचिनी: “कालचिनी खण्डको चुवापाड़ा चियाबारी स्थित ऐतिहासिक एयरफील्ड तथा गोल्फ मैदान कुनै समय थियो अरे” भन्ने समय पनि आईपुग्यो अब केही रहन्न यहाँ रहन्छ त केवल पाना नदीको चौड़ा बगर र उजाड़ एयरफील्डको भग्नावशेष। यस्तै कुराको चर्चा अचेल चुवापाड़ा र संलग्न मेचपाड़ा चियाबारीको गाउँहरुमा चल्न थालेको छ। एक समय धेरै चुवापाड़ा एयरफील्डको आकर्षित र हरियाली छाएको मनोरम दृश्य हेर्न धेरै ‌ठाउँका मानिसहरु आउने गर्थ्यो तर अब त्यो केवल धुमिल स्मृति मात्र रहने चुवापाड़ाका वयोवृद्ध समाजसेवीहरुले जनाएका छन। गत जुन महीनामा भएको मुसलधारे बर्षा र पाना नदीमा आएको बाढ़ले एयरफील्डको सुरक्षा गर्ने तटबाँधलाई नै भत्काएर नदी पसेपछि हाल एयरफील्ड नदीको बगरमा परिणत भएको छ।
प्रायः ८० को दशकमा तत्कालीन चुवापाड़ा चियाबारीको कम्पनी विलियमसन म्यागोर/म्याकलोएड (डब्ल्यूएम) का मालिक द्वारा उक्त एयरफील्डको निर्माण गरेको थियो भने सोही एयरफील्डको एक कुनामा बड़ासाहेबहरु एवम् तत्कालीन सरकारी अधिकारीहरु गोल्फ पनि खेल्ने गरेकोले सो ठाउँलाई गोल्फ मैदान पनि भनेर चिनिन्थ्यो। असमबाट सोझै डब्ल्यूएम कम्पनीका मालिक परिवार सानो जेट जहाजमा उड़ान भरेर चुवापाड़ाको उक्त ऐतिहासिक एयरफील्डमा ओर्लिने गरेको मात्र हिजो अस्ति जस्तो लाग्ने गरेको तर हाल उक्त एयरफील्ड/गोल्फ मैदान सम्पूर्ण रुपले पाना नदीको बगरमा परिणत भईसकेको दृश्य देख्दा मनै अमिलो भएर आउने गरेको दुखेसो पोख्छन चुवापाड़ा चियाबारीको वयोवृद्ध समाजसेवी तथा अवकाशप्राप्त प्राथमिक विद्यालयका प्रधान शिक्षक रामोध टोपवार। तिनी भन्छन, हेर्दाहेर्दै मनोरम देखिने चुवापाड़ा एयरफील्ड अहिले कहालीलाग्दो नदीको बगरमा परिणत भएको छ।

एयरफील्डको सानो विश्राम घर र सानो टावरको फ्रेम मात्र रहेकोले यहाँ कुनै समय एयरफील्ड र गोल्फ मैदान रहेको कताकता प्रतीत हुने गरेको तिनी बताउँछन। छोरा छोरी केटा केटीहरुलाई लिएर घुम्न जाने त्यो एयरफील्डमा अब केही नरहेकोले विरानो र उजाड़ स्थलमा परिणत भएको वयोवृद्ध समाजसेवी रामोध टोपवार र कमानको सिनियर स्टाफ शम्भू तामाङ बताउँछन। प्रायः ५० बर्ष जति पुरानो चुवापाड़ा चियाबारीको उक्त एयरफील्ड तथा गोल्फ मैदानमा कमानको अनुमति लिएर बनभोज पनि खेल्ने गरेको तर अहिले तटबाँध नै भत्किएर पाना नदी पसेपछि ढुङ्गा र बालुवाको थुप्रो साथै खाल्डो बनेर पानी जमेकोले अब यसलाई पुनरुद्धार गर्न नसकिने अवस्था भएको बताउँछन गाउँलेहरु।
एकातिर एयरफील्डको बर्बादी अर्कोतिर एयरफील्ड भएर बग्ने नदीको भँगालोले मेचपाड़ा चियाबारीलाई सोत्तर बनाउने आशङ्का रहेको र यससितै चुवापाड़ा चियाबारीको उत्पादन सेक्सन जम्मै जमीन बाढ़मा डुब्ने तिव्र सम्भावना रहेको दुवै चियाबारीको प्रबन्धनपक्षले चिन्ता व्यक्त गरेका छन‌।
प्रशासनले यसतर्फ ध्यान दिएर काम गर्न अत्यावश्यक रहेको क्षेत्रका बासिन्दाहरुले जनाएका छन।

About Author

Advertisement