नयाँदिल्ली: अमेरिकी शर्ट–सेलिङ कम्पनी Hindenburg Research ले जनवरी २०२३ मा भारतीय अडानी समूहविरुद्ध सार्वजनिक गरेको प्रतिवेदनबाट भएको भनिएको नाफा असुल गर्न भारतको बजार नियामक सिक्योरिटीज एण्ड एक्सचेंज बोर्ड ऑफ इंडिया (सेबी) ले प्रक्रिया अघि बढाएको छ।
हिंडनबर्गले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा Adani Group माथि सेयरको मूल्यमा हेरफेर गरेको लगायतका गम्भीर आरोप लगाइएको थियो। प्रतिवेदन सार्वजनिक भएपछि अडानी समूहका विभिन्न कम्पनीका सेयर मूल्यमा ठूलो गिरावट आएको थियो।
रोयटर्सको रिपोर्टअनुसार, हिंडनबर्गको प्रतिवेदनबाट लाभ उठाउँदै शर्ट–सेलिङ कारोबारमार्फत हिंडनबर्गसहित केही अन्य कम्पनीले करिब २२.२५ मिलियन अमेरिकी डलर (करिब २ अर्ब १० करोड रुपैयाँ) नाफा कमाएको आरोप छ। यही रकम असुल गर्ने उद्देश्यले सेबीले सम्बन्धित पक्षहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ।
रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै सेबीले हिंडनबर्गको प्रतिवेदनबाट लाभ उठाएको आशंका गरिएका कम्पनीहरूको पक्षसमेत सुन्न थालेको उल्लेख गरिएको छ। नियामकले सन् २०२४ मै अमेरिकी लगानी कम्पनी किंगडन कैपिटल मैनेजमेंट ले हिंडनबर्गको प्रतिवेदन सार्वजनिक हुनुअघि नै अडानी समूहसँग सम्बन्धित सेयरमा शर्ट पोजिसन बनाएको जनाएको थियो।
उक्त शर्ट पोजिसन कोटाक महिंद्रा बैंक को अन्तर्राष्ट्रिय कारोबारसँग सम्बन्धित मोरिससस्थित एउटा कोषमार्फत बनाइएको सेबीको भनाइ थियो।
कसरी भयो नाफा?
शर्ट पोजिसन भनेको सेयरको मूल्य घट्दा नाफा कमाउने लगानी रणनीति हो। यसमा लगानीकर्ताले पहिले सेयर उधारो लिएर बिक्री गर्छ र पछि मूल्य घटेपछि त्यही सेयर कम मूल्यमा खरिद गरेर फिर्ता गर्छ। बिक्री र पुनः खरिदबीचको मूल्य अन्तर नै उसको नाफा हुन्छ।
हिंडनबर्गले जनवरी २०२३ मा सार्वजनिक गरेको प्रतिवेदनमा अडानी समूहले भारतीय प्रतिभूति कानुन उल्लंघन गरेको दाबी गरेको थियो। अडानी समूहले भने हिंडनबर्गका सबै आरोप अस्वीकार गर्दै प्रतिवेदनलाई आधारहीन र भ्रामक भएको बताएको थियो।
तर प्रतिवेदन सार्वजनिक भएपछि अडानी समूहका कम्पनीहरूको सेयर मूल्यमा ठूलो गिरावट आयो। यस क्रममा अडानी समूहको कुल बजार मूल्यमा करिब १५० अर्ब अमेरिकी डलर बराबरको गिरावट आएको थियो।
अब सेबीले हिंडनबर्गको प्रतिवेदन सार्वजनिक हुनुअघि बनाइएका शर्ट पोजिसन तथा त्यसबाट भएको सम्भावित नाफाबारे अनुसन्धान गरी सम्बन्धित पक्षबाट रकम असुल गर्ने प्रक्रिया अघि बढाएको बताइएको छ।





