सौराहाको राप्तीमा देखियो दुर्लभ डल्फिन

IMG-20240827-WA0004

भद्रपुर: नेपालको पर्यटकीय नगरी सौराहा क्षेत्रमा केही दिनदेखि दुर्लभ जलचर ‘डल्फिन’ देखिन थालेको छ। नारायणी नदीको मेघौलीमा धेरै वर्षपछि गत वर्ष एक पटक डल्फिन देखिएको थियो तर सौराहाको राप्ती नदीमा पहिलो पटक खेल्दै गरेको अवस्थामा देखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए।
दुर्लभ जलचर देखिनु धेरै सकारात्मक भएको उनले बताएका छन्। के कति सङ्ख्यामा रहेको छ भन्ने विषयमा हामीले अध्ययन गर्ने तयारी रहेको जानकारी दिए। केही दिनदेखि निरन्तर देखिन थालेपछि हेर्नेको भिड बढेको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले जानकारी दिए।
“सौराहा क्षेत्रमा डल्फिन देखिएको अहिलेसम्म नसुनेको र कसैले देखेँ भनेर भनेको पाएका छैनौँ,” उनले भने, “यो हाम्रा लागि धेरै अचम्मको विषय भएको छ। यति सानो नदीमा समुद्रमा पाइने डल्फिन देख्न पाउनु भाग्यको कुरा हो।”
टाँडीबाट सौराहा जाने बाटोको बिचमा रहेको बुढीराप्तीको डुङ्गाघाट, हात्ती प्रजनन केन्द्र खोरसोर, सौराहाको मुख्य पर्यटकीय क्षेत्र पब, ढुङ्ग्रेखोलामा डल्फिन देखिएको अध्यक्ष तामाङले बताउछन्। “अहिलेसम्म एउटा मात्र हो कि भन्ने अनुमान गरेका छौँ। निकुञ्जको टोलीले अध्ययन गरेपछि सङ्ख्याको विषयमा जानकारी होला,” उनले भने। चार दिनदेखि सौराहा वरिपरि मुख्य र सहायक खोलामा डल्फिन खेल्दै गरेको देखिएको थियो।
डल्फिन देखिएपछि आन्तरिक र बाह्य पर्यटकको भिड लागेको पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले जानकारी दिन्छन्। नेचरगाइड रवि श्रेष्ठले रविबार बुढीराप्ती खोलामा उक्त डल्फिन देखेको जानकारी दिए। बुढीराप्तीको डुङ्गाघाटमा डल्फिन देखा परेपछि श्रेष्ठले फोटो र भिडियो खिचे का थिए। निरन्तर डल्फिन देखिन थालेपछि अन्यले पनि फोटो खिच्न थालेका थिए।
नारायणीमा खास गरेर मेघौलीभन्दा तल नवलपुरको अमलटारी आसपासमा केही वर्षयता फाट्टफुट्ट डल्फिन देखिएको थियो। यस पटक गत चैतमा नारायणी नदीको माथिल्लो क्षेत्र नारायणगढ बजार आडमा नै डल्फिन देखिएको थियो।
राप्तीमा १९७६/१९७७ सालतिर कसरानजिक एक पटक डल्फिन देखिएको र त्यसयता कहिल्यै नदेखिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख रामप्रित यादवले बताउछन्। कसराबाट पूर्व सौराहा क्षेत्रमा अहिलेसम्म डल्फिन नेदेखिएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ।

About Author

Advertisement