सोरेङमा ‘योगा फर हेल्दी एजिङ’ नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस पलान

FB_IMG_1782051949572

सोरेङ: सोरेङ जिल्लाको जौटारस्थित इन्डोर जिम्नेजियम हलमा आइतबार ‘योगा फर हेल्दी एजिङ’ (स्वस्थ बुढ्यौलीका लागि योग) भन्ने मुख्य नाराका साथ ‘अन्तर्राष्ट्रिय योग दिवस २०२६’ भव्य रूपमा मनाइएको छ। सोरेङ जिल्ला प्रशासन तथा खेलकुद र युवा मामिला विभागको सहयोगमा आयुष विभाग र सोरेङ प्राथमिक स्वास्थ्य केन्द्र (पीएचसी) द्वारा संयुक्त रूपमा कार्यक्रम आयोजना गरिएको हो।
​कार्यक्रमलाई सम्बोधन गर्दै सोरेङका जिल्ला समाहर्ता (डीसी) धीरज सुवेदीले अन्तर्राष्ट्रिय योग दिवसको महत्त्वमाथि प्रकाश पारे। उनले शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थ्यलाई सन्तुलित राख्न योगको भूमिका अतुलनीय रहेको चर्चा गरे। यस वर्षको नारालाई आत्मसात् गर्दै उनले स्वस्थ र सन्तुलित जीवनशैलीका लागि योगलाई दैनिक जीवनको हिस्सा बनाउन सबैलाई आग्रह गरे।
​सोही अवसरमा लागुऔषध दुरुपयोग र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको देशव्यापी अभियानअन्तर्गत ‘नशामुक्त भारत सप्ताह’ समेत मनाइएको थियो। ‘नशामुक्त भारत अभियान–विकसित भारतकी पहिचान’ नाराका साथ आयोजित उक्त सत्रमा जिल्ला समाहर्ता सुवेदीले उपस्थित सबैलाई लागुऔषधविरुद्धको शपथ गराएका थिए।
​समारोहमा नामथाङस्थित पीएम श्री बीकेजीएसएसएसकी शारीरिक शिक्षा शिक्षिका (पीईटी) प्रनिता गुरुङले योग सत्रको सञ्चालन गरेकी थिइन्। उक्त सामूहिक योग अभ्यासमा विद्यार्थी, सरकारी अधिकारी तथा स्थानीय गरी करिब १३३ जनाको उत्साहजनक सहभागिता थियो।

कार्यक्रममा सोरेङकी एसडीएम साकचुम लेप्चा, मत्स्य विभागका सह-निर्देशक लोब्साङ तामाङ, वरिष्ठ कल्याण अधिकारी प्रतिभा तामाङ, सीडीपीओ गौरी तामाङ, जिल्ला योजना अधिकारी कुमार सुब्बा, खेलकुद विभागकी उप-निर्देशक ममिता गुरुङ, आयुष विभागकी मेडिकल अफिसर डा. रोश्मा थापा लगायत विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement