सोनादा: सोनादा डिग्री कलेजको एन्टी र्यागिङ कमिटीको तत्वावधानमा राष्ट्रिय एन्टी र्यागिङ दिवस कलेजको प्रेक्षागृहमा विविध कार्यक्रमसहित सम्पन्न भयो। एन्टी र्यागिङ कमिटीका संयोजक डा. पार्थ सारथी दासको नेतृत्वमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता कलेजका प्राचार्य डा. योगेश खातीले गरेका थिए।कार्यक्रममा सम्बोधन गर्दै प्रा पर्वत रसाइलीले र्यागिङ विद्यार्थीको व्यक्तित्व, आत्मसम्मान र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने अमानवीय व्यवहार भएको उल्लेख गर्दै कलेजको इतिहासमा सोनादा डिग्री कलेजमा आजसम्म रयागिङका कुनै घटनाहरू नभएकोमा खुसी व्यक्त गर्दै यसरी नै सबै शैक्षिक संस्थानहरूमा भयमुक्त, मैत्रीपूर्ण र अनुशासित शैक्षिक वातावरण निर्माण गर्न सबै विद्यार्थी सचेत र जिम्मेवार हुनुपर्ने बताए। उनले भने-“कलेज विद्यार्थीको प्रतिभा र व्यक्तित्व विकास गर्ने थलो हो, कसैलाई अपमानित, भयभीत वा मानसिक रूपमा प्रताडित गर्ने स्थान होइन।”
त्यसैगरी प्रा प्रवीण लोहारले र्यागिङलाई मनोरञ्जन वा नयाँ विद्यार्थीलाई चिनाउने सामान्य प्रक्रियाका रूपमा लिन नहुने स्पष्ट पार्दै यसले विद्यार्थीबीचको सौहार्द र आपसी विश्वासमा गम्भीर असर पुर्याउन सक्ने बताए। उनले वरिष्ठ र कनिष्ठ विद्यार्थीबीचको सम्बन्ध डरमा होइन, पारस्परिक सम्मान, सहयोग र सद्भावमा आधारित हुनुपर्छ” भन्ने धारणा व्यक्त गरे। प्रा पेन्चुला भुटियाले एन्टी र्यागिङ दिवसको उद्देश्य केवल र्यागिङविरुद्ध चेतना फैलाउनु मात्र नभई विद्यार्थीहरूमा मानवता, सहिष्णुता, अनुशासन र सहअस्तित्वको भावना विकास गर्नु पनि रहेको बताइन्। उनले आफू कलेज पढ्दा भोग्न परेका रेगिङका तीतो अनुभवहरू साझा गर्दै उनले भनिन्, -“एकअर्काको सम्मान गर्न सिक्नु नै सभ्य र समावेशी शैक्षिक संस्कृतिको पहिलो आधार हो।”
कार्यक्रमका अध्यक्ष तथा कलेजका प्राचार्य डा. योगेश खातीले शैक्षिक संस्थानहरूमा र्यागिङ पूर्णतः अस्वीकार्य रहेको स्पष्ट पार्दै कलेजलाई सुरक्षित, मर्यादित र सकारात्मक शैक्षिक वातावरणका रूपमा विकास गर्न कलेज प्रशासन प्रतिबद्ध रहेको बताए। उनले विद्यार्थीहरूलाई कुनै पनि प्रकारको र्यागिङजन्य गतिविधिमा संलग्न नहुन तथा त्यस्तो घटना भएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन आग्रह गरे। प्राचार्य डा. खातीले विद्यार्थीको अनुशासन भनेको केवल नियम पालना गर्नु मात्र होइन; अरूको सम्मान, अधिकार र आत्मसम्मानको रक्षा गर्नु पनि हो भन्दै सोनादा डिग्री कलेजलाई विगतका दिनहरूमा झैँ आगामी दिनहरूमा पनि र्यागिङमुक्त कलेज निर्माणमा विद्यार्थी, शिक्षक तथा प्रशासन सबैको समान दायित्व रहेको बताए।
कार्यक्रमका क्रममा विद्यार्थीहरूबीच ‘एन्टी र्यागिङ’ विषयमा पोस्टर लेखन प्रतियोगितासमेत आयोजना गरिएको थियो। प्रतियोगितामा विद्यार्थीहरूले र्यागिङका दुष्परिणाम तथा त्यसको अन्त्यका लागि आवश्यक चेतनामूलक सन्देशहरू पोस्टरमार्फत प्रस्तुत गरेका थिए।प्रतियोगितामा प्रथम सत्रकी अंकिता घोषले प्रथम स्थान हासिल गरिन्। उनलाई कार्यक्रमका अध्यक्ष तथा प्राचार्य डा. योगेश खातीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। यस कार्यक्रमले विद्यार्थीहरूमा र्यागिङविरुद्ध सचेतना अभिवृद्धि गर्नुका साथै आपसी सम्मान, सद्भाव, मानवता र अनुशासनमा आधारित स्वस्थ कलेज संस्कृतिको निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गरेको थियो। कार्यक्रमलाई प्रा प्रवीणा लोहारले सञ्चालन गरेकी थिइन् भनी सोनादा डिग्री कलेजका प्राध्यापक मेघनाथ छेत्रीले जानकारी गराएका छन्।









