सोनादा: सोनादा डिग्री कलेजको सञ्चालन समितिकी नवनियुक्त सभापति डा. उर्वशी प्रधानलाई कलेजको प्रेक्षागृहमा मंगलवार ६ अक्टोबरका दिन आयोजित कार्यक्रममा स्वागत गरियो। प्राचार्य डा. योगेश खाती, शिक्षण तथा अशिक्षण कर्मचारी र विद्यार्थीहरूले उहाँलाई पुष्पगुच्छ र माल्यार्पण गरी स्वागत जनाए। कार्यक्रममा डा. प्रधानको परिचय प्रस्तुत गर्दै प्राचार्य डा. खातीले उनको शैक्षिक, अनुसन्धान र सामाजिक विकासका क्षेत्रमा रहेको योगदानबारे जानकारी दिए। डा. प्रधानले अशोका ट्रस्ट फर रिसर्च इन इकोलोजी एन्ड द इन्भाइरोन्मेन्ट (एट्री) बाट विज्ञानमा विद्यावारिधि र पारिस्थितिकी तथा पर्यावरण जीवविज्ञानमा विशेषज्ञतासहित प्राणीशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेकी छन्। उनले नेसनल सेन्टर फर बायोलोजिकल साइन्सेस, टाटा इन्स्टिच्युट अफ फन्डामेन्टल रिसर्चमा विद्यावारिधिपछिको अनुसन्धानसमेत गरेकी छन्।
डा. खातीले दार्जिलिङ र सिक्किममा वन, स्थानीय सामाजिक, प्राकृतिक स्रोत व्यवस्थापन तथा ग्रामीण जीविकोपार्जनका क्षेत्रमा डा. प्रधानको लामो अनुभव रहेको बताए। एट्री, डब्लूडब्लूएफ–इन्डिया, नाबार्डलगायत विभिन्न संस्थासँग आबद्ध भएर काम गरेकी डा. प्रधानले अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीमा अतिथि अनुसन्धानकर्ताका रूपमा पनि काम गरेकी छन्। उहाँको अनुभव र नेतृत्वबाट कलेजको शैक्षिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास प्राचार्य खातीले व्यक्त गरे। आफ्नो सम्बोधनमा नव नियुक्त सभापति डा. उर्वशी प्रधानले सोनादा डिग्री कलेजको सभापतिको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरिन्। कलेजको गौरव र गरिमा अझ बढाउन सबैले समर्पित भएर काम गर्नुपर्ने बताउँदै उनले एका- अर्काको साथ र सहयोगबाट मात्र संस्थाको उत्तरोत्तर प्रगति सम्भव हुने धारणा राखिन्। यस अवसरमा डा प्रधानको बाहुलीबाट बितेका केही दिनदेखि निरन्तर रुपमा सम्पन्न भईरहेको सेवा संकल्प कार्यक्रममा सहभागी हुने कलेजका विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्रहरु पनि प्रदान गरिएको थियो।
स्वागत कार्यक्रमको सञ्चालन कलेजको आन्तरिक गुणवत्ता मूल्याङ्कन प्रकोष्ठ (आईक्यूएसी) की संयोजिका प्रा. पेञ्चुला भुटियाले गरेकी थिइन् भनी सोनादा डिग्री कलेजका उप- प्राध्यापक मेघनाथ छेत्रीले जानकारी गराएका छन्।





