नृशंस हत्या प्रकरणमा अभियुक्तलाई आजीवन कारावास, १० हजार रुपैयाँ जरिवाना

a578d555-f0d1-4b1a-a141-6d9a3eedf93a

सिलगढी: गहिरो राति घरमा श्रीमान् नभएको मौका छोपेर छिमेकीको घरमा प्रवेश गरी महिला र उनका छोरामाथि धारिलो हतियार प्रहार गरेको हत्या प्रकरणमा अदालतले अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाएको छ। अदालतले अभियुक्त मढाइ दासलाई १० हजार रुपैयाँ जरिवानासमेत तिराउने आदेश दिएको छ।
प्राप्त विवरणअनुसार, पुरानो रिसइबीका कारण मढाइ दासले राति प्रतिमा दासको घरमा प्रवेश गरी सुतिरहेकी प्रतिमामाथि धारिलो हतियार (कटारी) प्रहार गरेका थिए। त्यही क्रममा नजिकै सुतिरहेका उनका छोरा सञ्जित दासमाथिसमेत लगातार प्रहार गरिएको थियो।
आमा–छोराको चिच्याएको आवाज सुनेपछि छिमेकीहरू घटनास्थलतर्फ दौडिएपछि अभियुक्त मढाइ दास त्यहाँबाट फरार भएका थिए। गम्भीर घाइते प्रतिमा र सञ्जितलाई तत्काल स्थानीय अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले प्रतिमालाई मृत घोषणा गरेका थिए भने सञ्जितको उपचार सुरु गरिएको थियो।
घटनापछि मृतक प्रतिमाका श्रीमान् दुर्गम दासले नानुर थानामा लिखित उजुरी दिएका थिए। घटनाको अनुसन्धानको जिम्मेवारी तत्कालीन सब–इन्स्पेक्टर निर्मल चक्रवर्तीले सम्हालेका थिए। हाल उनी अवकाशप्राप्त भइसकेका छन्।
अनुसन्धानका क्रममा पुलिसले अभियुक्त मढाइ दासलाई पक्राउ गरेको थियो। पुलिसले संकलन गरेको तथ्य तथा प्रमाणका आधारमा अदालतमा आरोपपत्र (चार्जसिट) पेस गरिएको थियो। लामो कानुनी प्रक्रियापछि अदालतले अभियुक्तलाई दोषी ठहर गर्दै आजीवन कारावास र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो।
सिलगढी पुलिसले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको विवरणमा घटनाको अनुसन्धान, अभियुक्तको पक्राउ तथा प्रमाणका आधारमा अदालतमा आरोपपत्र पेस गरिएको र अन्ततः अदालतबाट अभियुक्तलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइएको उल्लेख गरेको छ।
पुलिसले प्रभावकारी अनुसन्धान र संकलित प्रमाणका आधारमा भएको अदालतको फैसलालाई घटनामा न्यायिक निष्कर्षका रूपमा प्रस्तुत गरेको छ।

About Author

Advertisement