गान्ताेक: सिक्किमका विभिन्न एकलब्य मोडल आवासीय विद्यालय का उदीयमान खेलाडीहरूलाई समेट्दै ईएमआरएस सुन्तोलेको प्राङ्गणमा सोमबारदेखि तीनदिने ‘राज्यस्तरीय ईएमआरएस खेलकुद प्रतियोगिता २०२६’ सुरु भएको छ।प्रतियोगिताको उद्घाटन समारोहमा मेली निर्वाचन क्षेत्रका विधायक एन. बी. प्रधान प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

त्यसैगरी, विधायकका ओएसडी सुवेन तामाङ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा पञ्चायत अध्यक्षा चन्द्रकला प्रधान, सीएलसीका महासचिव टी. बी. गुरुङ लगायत अन्य महानुभावहरूको पनि उपस्थिति रहेको थियो।सामाजिक कल्याण विभागअन्तर्गतको ईएमआरएस सोसाइटी सिक्किमका नोडल अधिकारी तथा आयोजक विद्यालय ईएमआरएस सुन्तोलेले अतिथिहरूलाई परम्परागत खादा ओढाएर स्वागत गरेका थिए। मार्चपास्ट, ओलम्पिक टर्च प्रज्वलन र खेलाडीहरूको शपथ ग्रहणसँगै प्रतियोगिताको औपचारिक सुरुआत गरिएको थियो।उद्घाटनपश्चात् मुख्य मैदानमा छात्र तथा छात्रातर्फ १०० मिटर र २०० मिटर दौडको हिट्स चरणका साथै सटपुटको छनोट चरणका खेलहरू सञ्चालन गरिएका थिए।यसैगरी, सोमबार नै सम्पन्न १९ वर्षमुनिको छात्रा फुटबल सेमिफाइनल खेलमा आयोजक ईएमआरएस सुन्तोलेले ईएमआरएस स्वयम्लाई १-० गोलअन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। अब उपाधिका लागि ईएमआरएस सुन्तोलेले दोस्रो दिन ईएमआरएस पारखाको सामना गर्नेछ।विद्यार्थीहरूमा खेलकुद क्षमता, अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गराउने उद्देश्यका साथ आयोजना गरिएको यो प्रतियोगिता तीन दिनसम्म चल्नेछ।





