खरसाङ: दार्जिलिङ पुलिस प्रशासनको तर्फबाट यसपालीको दुर्गा पूजाको लागि दार्जिलिङ जिल्ला दुर्गा पूजा गाइड म्याप सार्वजनिक गर्नुको साथै खरसाङ महकुमा क्षेत्रमा रहेका दुर्गा पूजा आयोजक समितिहरुलाई सरकारको तर्फबाट प्रदान गरिने चेक वितरण गरिएको छ। उक्त कार्यक्रम खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न भएको छ। ट्राफिक पुलिस बिमल गुरुङले सञ्चालन गरेको कार्यक्रममा सर्वप्रथम दार्जिलिङ जिल्ला पुलिस अधीक्षक आईपीएस वाई श्रीकान्त जगनाथ राव, खरसाङका विधायक सोनाम लामा, खरसाङ महकुमा शासक पेमा शेर्पा, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, एडिसनल एसपी अनिन्दा सुन्दर भट्टाचार्य र वरिष्ठ अधिवक्ता रमेश अग्रवाल आदिको बाहुलीबाट दार्जिलिङ जिल्ला दुर्गा पूजा गाइड म्यापको लोकार्पण गरियो। कार्यक्रममा दार्जिलिङ जिल्ला पुलिस अधीक्षक आईपीएस वाई श्रीकान्त जगनाथ रावले आफ्नो सम्बोधनमा भने, यो उत्सव हो र यो उत्सव राज्यको सबैभन्दा ठूलो उत्सव हो। यो उत्सव शान्तिपूर्ण रुपमा समृद्धिको लागि मनाउनुपर्छ। यस उत्सवमा दार्जिलिङ पहाड घुम्न आउने पर्यटकहरु र उत्सव मनाउनेहरुको सुरक्षालाई हेरेर मनाउनुपर्छ। यसमा ट्राफिक व्यवस्थापन सठीक रुपमा हेर्नुपर्छ र यसको लागि पुलिस प्रशासन मात्र होइन तर स्थानीयहरुको पनि सहयोग चाहिन्छ।’
उनले विशेष गरेर ट्राफिक गाइड म्याप लोकार्पण गरिएको जानकारी गराउँदै हरेक दुर्गा पूजा मण्डपमा ट्राफिक सचेतना, साईबर सुरक्षा सचेतना र ड्रग्स सेवन रोकथामको लागि सचेतनामूलक पोष्टरहरु टाँसिदिने आह्वान् गरेका छन्।

कार्यक्रममा खरसाङका विधायक सोनाम लामा, खरसाङ महकुमा शासक पेमा शेर्पा, एडिसनल एसपी अनिन्दा सुन्दर भट्टाचार्य आदिले वक्तव्य राख्दै दुर्गा पूजाको समयमा ट्राफिक व्यवस्थापन र सुरक्षा उपायहरु विषयमा वक्तव्य राखेका थिए। यसै कार्यक्रममा खरसाङ महकुमा अन्तर्गत पर्ने विभिन्न स्थानहरुमा पालन गरिने दुर्गा पूजाको लागि विभिन्न संघ संस्थाहरुलाई एक लाख रुपियाँ गरेर चेक वितरण गरिएको छ। यस अवसरमा जम्मा 28 वटा विभिन्न संघ संस्थाहरुलाई चेक वितरण गरिएको छ। उक्त चेक दार्जिलिङ जिल्ला पुलिस अधीक्षक आईपीएस वाई श्रीकान्त जगनाथ राव, खरसाङका विधायक सोनाम लामा, खरसाङ महकुमा शासक पेमा शेर्पा, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, एडिसनल एसपी अनिन्दा सुन्दर भट्टाचार्य, वरिष्ठ अधिवक्ता रमेश अग्रवाल, ट्राफिक इन्स्पेक्टर पिन्टु मुखर्जी, आईसी पलास मोहन्तो, खरसाङ ट्राफिक पुलिस प्रभारी विकास चामलिङ, खरसाङ टाउन आउट पोष्टका ओसी सागर प्रधान, गाडीधुरा ट्राफिक पुलिस प्रभारी वीरेन्द्र छेत्री, भाजपा दार्जिलिङ जिल्ला उपाध्यक्ष आरबी लामा, जिल्ला सचिव बिनय प्रसाद लगायत अन्यहरुको बाहुलीबाट चेक वितरण गरिएको छ। दार्जिलिङ जिल्ला पुलिसको तर्फबाट दार्जिलिङ जिल्ला दुर्गा पूजा गाइड म्यापको लोकार्पण साथै चेक वितरण कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ जिल्ला पुलिस अधीक्षक आईपीएस वाई श्रीकान्त जगनाथ राव, खरसाङका विधायक सोनाम लामा, खरसाङ महकुमा शासक पेमा शेर्पा, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती आदिले विस्तृत रुपमा जानकारी गराएका छन्।





