आँगनबाडी कार्यकर्ताहरूका लागि विशेष अभिमूखीकरण कार्यक्रम सम्पन्न
गान्ताेक: नशा मुक्त भारत अभियानको छैटौँ वार्षिकोत्सवको अवसरमा सिक्किम सरकारको सामाजिक कल्याण विभागको सभाहलमा सोमबार (१२ अक्टोबर २०२६) आँगनबाडी कार्यकर्ताहरूका लागि एक विशेष अभिमूखीकरण कार्यक्रम आयोजना गरिएको छ। नशाजन्य पदार्थको दुर्व्यसनीबाट व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक असरबारे सचेतना जगाउने, प्रारम्भिक पहिचान गर्ने, परामर्श दिने तथा उपचारका लागि सिफारिस गर्ने प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्ग कल्याण विभागकी उर्वशी पौड्यालले आँगनबाडी कार्यकर्ताहरूलाई ‘नशा मुक्त मित्र’ का रूपमा पहिचान गरिएको बताउँदै तल्लो तह (ग्रासरुट) मा दुर्व्यसनीविरुद्ध सचेतना फैलाउन उनीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले दुर्व्यसनमा परेकाहरूसँग सहानुभूतिपूर्वक र संवेदनशील भई प्रस्तुत हुन आग्रह गर्दै नशा मुक्त सिक्किम निर्माणका लागि विभागको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सामाजिक कल्याण विभागका अतिरिक्त निर्देशक महेश शर्माले आँगनबाडी कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै दुर्व्यसनले परिवार र सामाजिक संरचनामै खलल पुर्याउने बताउनुभयो। उहाँले ‘सहयोगी कार्यक्रम’ का फाइदाहरू, उपचारका सम्भावनाहरू तथा नाम्छीस्थित १५ शय्याको सञ्जीवनी पुनर्स्थापना केन्द्र र सिचेस्थित ५० शय्याको जागृति पुनर्स्थापना केन्द्रजस्ता सुविधाहरूबारे जानकारी दिनुभयो। शर्माले साथीभाइको दबाब (पियर प्रेसर), पारिवारिक तनाव र सामाजिक परिस्थितिका कारण युवावर्ग मात्र नभई ग्रामीण भेगका विभिन्न उमेर समूहका मानिसहरू दुर्व्यसनको चपेटामा परिरहेकाले यसमा प्रारम्भिक रोकथाम र परामर्श अति आवश्यक रहेको औँल्याउनुभयो।
सामाजिक कल्याण विभागका संयुक्त निर्देशक रामकुमार तामाङले कार्यक्रमको सञ्चालन (एमसी) गर्नुका साथै सहभागीहरूलाई नशा मुक्त भारत अभियानअन्तर्गत लागूपदार्थमुक्त समाज निर्माणको शपथ ग्रहण गराउनुभएको थियो।

त्यसैगरी, सेन्टर फर एडिक्शन मेडिसिन छुवातारकी नर्स सन्तोषी खनालले नशा (एडिक्शन) को परिभाषा, यसका लक्षणहरू र दुर्व्यसनीको पहिचान कसरी गर्ने भन्नेबारे जानकारी दिनुभयो। उहाँले आँगनबाडी कार्यकर्ताहरूलाई स्वास्थ्य क्षेत्र र समुदायबीचको बलियो कडीका रूपमा कार्य गर्न आग्रह गर्नुभयो।
कुल ५८ जना आँगनबाडी कार्यकर्ताहरूको सहभागिता रहेको उक्त कार्यक्रमले ग्रामीण क्षेत्रमा लागूपदार्थको रोकथाम, प्रारम्भिक पहिचान र उपचार प्रक्रियामा सामाजिक कल्याण विभाग र स्वास्थ्य क्षेत्रबीचको समन्वयलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।





