गान्ताेक: प्रतिस्पर्धात्मक खेलमा सिक्किम पुलिसलाई ३-१ गोलअन्तरले पराजित गर्दै शिलोङ लाजोङ ४२ औँ गभर्नर्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।पहिलो हाफको मध्यतिर केन्स्टार खारसोङले पेनाल्टीमार्फत गोल गर्दै शिलोङ लाजोङलाई सुरुआती अग्रता दिलाएका थिए। तर, सिक्किम पुलिसका राहुल पास्वानले उत्कृष्ट र शक्तिशाली प्रहारमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुआतमै मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी एभरब्राइट सानाले गोल गर्दै शिलोङलाई पुनः २-१ को अग्रता दिलाए।पुनः बराबरी गोलको खोजीमा सिक्किम पुलिसले आक्रामक खेल पस्किए पनि शिलोङको बलियो रक्षापङ्क्ति तोड्न सकेन। खेलको अतिरिक्त समयमा सानाले व्यक्तिगत दोस्रो गोल गर्दै शिलोङ लाजोङको ३-१ को जित पक्का गरे। उत्कृष्ट प्रदर्शन गरेका साना खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।अब सेमिफाइनलमा शिलोङ लाजोङले अक्टोबर १४ मा स्थानीय टोली सिङलिङ फुटबल क्लबको सामना गर्नेछ।





