मङ्गन: सिक्किमको मङ्गन जिल्लामा बारम्बार दोहोरिने नेटवर्क अवरोधको समस्या समाधान गर्न र दूरसञ्चार पूर्वाधार सुदृढ बनाउने उद्देश्यले सोमवार जिल्लापाल कार्यालयमा प्रमुख दूरसञ्चार सेवा प्रदायकहरूसँग एक उच्चस्तरीय समन्वय बैठक सम्पन्न भएको छ। सामाजिक कल्याण मन्त्री एवम् लाचेन-मङ्गनका विधायक सामडुप लेप्चाको अध्यक्षता तथा जिल्लापाल अनन्त जैनको सह-अध्यक्षतामा उक्त बैठक आयोजना गरिएको हो।बैठकमा मङ्गन र चुङ्थाङका उप-विभागीय अधिकारी (एसडीओ), अतिरिक्त प्रहरी उपरीक्षक, क्षेत्रीय यातायात अधिकारी, सहायक वन संरक्षक, सहायक मोटर वाहन निरीक्षक तथा जिल्ला परियोजना अधिकारीलगायत प्रशासनिक निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। यसैगरी दूरसञ्चार विभागका सहायक डिभिजनल इन्जिनियर, बीएसएनएलका सब-डिभिजनल इन्जिनियरलगायत निजी सेवा प्रदायकका प्रतिनिधिहरूले पनि बैठकमा सहभागिता जनाएका थिए।बैठकलाई सम्बोधन गर्दै जिल्लापाल जैनले अन्तर्राष्ट्रिय सीमासँग जोडिएका रणनीतिक तथा सीमावर्ती गाउँहरूमा दूरसञ्चारको पहुँच अपरिहार्य रहेको बताउनुभयो। सुदृढ नेटवर्क नियमित प्रशासन र विपद् पूर्वतयारीका लागि मात्र नभई सीमा सुरक्षा र समग्र क्षेत्रीय विकासका लागि अत्यन्त संवेदनशील रहेको उहाँको भनाइ थियो। यस्तै मन्त्री लेप्चाले दुर्गम क्षेत्रका बासिन्दाले बिनाअवरोध अत्यावश्यक मोबाइल तथा इन्टरनेट सेवा पाउनुपर्नेमा जोड दिँदै भरपर्दो र निर्बाध नेटवर्कको तत्काल व्यवस्था गर्न निर्देशन दिनुभयो।विद्युतीय शासन (ई-गभर्नेन्स), प्रशासनिक सञ्चार र भर्चुअल बैठकलाई सहज बनाउन जिल्लापालले सेवा प्रदायकहरूलाई जिल्ला प्रशासनिक केन्द्र परिसरभित्रै एउटा समर्पित मोबाइल टावर जडान गर्न औपचारिक निर्देशन दिनुभएको छ। छलफलका क्रममा भारती एयरटेलले पेन्टोक क्षेत्रबाट ५जी सेवा विस्तार सुरु गरी क्रमशः जिल्लाका अन्य भागहरूमा लैजाने प्रतिबद्धता जनाएको छ भने रिलायन्स जियोले हालको कभरेजलाई सुदृढ बनाउँदै इन्टरनेटको गति बढाउने आश्वासन दिएको छ।यस्तै दूरसञ्चार विभागले नेटवर्क नपुगेका वा कमजोर कभरेज भएका सीमावर्ती तथा दुर्गम क्षेत्रहरूको सर्वेक्षण गरी केन्द्रीय सरकारी योजनामार्फत समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। रोकिएका प्राविधिक स्तरोन्नतिका कामहरूलाई तीव्रता दिँदै जिल्लाभर दीर्घकालीन र निर्बाध सम्पर्क सञ्जाल कायम राख्ने साझा निर्णयका साथ बैठक सम्पन्न भएको छ।





