गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीका युवा नेताहरूले सिक्किममा चुनावी षड्यन्त्र भएको आरोप लगाउँदै सोमबार भारतको नयाँ दिल्लीस्थित जन्तरमन्तरमा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकै क्रममा एसडीएफ प्रतिनिधिमण्डलले बीबीसीका प्रतिनिधिलाई भेटेर चुनावी अनियमिततासम्बन्धी एक प्रतिवेदनसमेत बुझाएका छन्।एसडीएफद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पार्टीको प्रचारप्रसार मामिलाकी महासचिव उर्वशी खालिङ र नाम्ची जिल्ला महासचिव तथा प्रभारी रिवाज लिम्बूले बीबीसी टोलीलाई उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो। बुझाइएको प्रतिवेदनमा सन् २०१९ को विधानसभा निर्वाचनका क्रममा जनप्रतिनिधित्व ऐनअनुसार उम्मेदवार बन्न अयोग्य रहेका व्यक्तिहरूलाई कसरी चुनावी प्रतिस्पर्धामा सहभागी हुन अनुमति दिइयो भन्ने विषयमा गम्भीर प्रश्न उठाइएको छ।विज्ञप्तिमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरूलाई जनआकाङ्क्षा विपरीत सिक्किमको सत्तामा पुर्याइएको दाबी गर्दै त्यससँग सम्बन्धित आवश्यक प्रमाणहरू समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसमक्ष प्रस्तुत गरिएको उल्लेख छ।दिल्लीको जन्तरमन्तरमा आयोजना गरिएको उक्त विरोध प्रदर्शनमा एसडीएफका वरिष्ठ उपाध्यक्ष तथा युवा प्रभारी कर्मा टाशी भोटिया, नाम्ची जिल्ला अध्यक्ष रमेश किराँत, प्रवक्ता योजना खालिङ र सोरेङ जिल्ला युवा प्रभारी इजाक लिम्बूलगायतका युवा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। एसडीएफका वरिष्ठ उपाध्यक्ष (प्रचारप्रसार) अम्बर राईले प्रेस विज्ञप्ति जारी गर्दै यस प्रदर्शन र प्रतिवेदन हस्तान्तरणबारे आधिकारिक जानकारी गराउनुभएको हो।





