सीएम-एसएनपी अन्तर्गत कार्यशाला तथा अनुगमन सम्पन्न

FB_IMG_1785000264277

गान्ताेक: सिक्किम सरकारको शिक्षा विभागअन्तर्गत राज्य शैक्षिक अनुसन्धान तथा तालिम परिषद (एससीईआरटी)ले ‘जोडो ज्ञान’ नयाँ दिल्लीको सहकार्यमा ‘मुख्यमन्त्री विशेष गणितीय क्षमता कार्यक्रम’ (चीफ मिनिस्टर स्पेशल न्यूमरेसी प्रोग्राम- सीएम-एसएनपी) अन्तर्गत आवासीय कार्यशाला, क्लस्टर स्तरीय तालिम तथा विद्यालय अनुगमन कार्यक्रम सम्पन्न गरेको छ।
​पहिलो चरणमा राज्य स्रोत समूह (एसआरजी) का सदस्यहरूका लागि दुईवटा तीन दिने आवासीय कार्यशाला आयोजना गरिएको थियो। कक्षा ३ हेर्ने सदस्यहरूका लागि जुलाई ८ देखि १० र कक्षा १ र २ का लागि जुलाई १४ देखि १६ सम्म होटल टियारा रेसिडेन्सीमा कार्यशाला सञ्चालन गरिएको थियो। कार्यशालामा कक्षा ३ र ४ को गणित शिक्षण, भिन्न (फ़्रैक्शन) को अवधारणा तथा पहिलो त्रैमासिक परीक्षाको नतिजा विश्लेषण गरी सिकाइ उपलब्धि सुधार्ने रणनीतिबारे छलफल भएको थियो।

​त्यसलगत्तै तालिमप्राप्त एसआरजी सदस्यहरूले सिक्किमका ६ वटै जिल्लाका ७६५ सरकारी विद्यालयका शिक्षकहरूका लागि ४० वटा क्लस्टर केन्द्रहरूमा तालिम सञ्चालन गरेका थिए। कक्षा ३ का शिक्षकका लागि जुलाई १४ देखि २१ सम्म र कक्षा १ र २ का शिक्षकका लागि जुलाई २० देखि २३ सम्म क्लस्टर स्तरीय तालिम आयोजना गरिएको थियो।
​कार्यक्रमको अनुगमन तथा शैक्षिक सहयोगका लागि एससीईआरटीका उपनिर्देशक राजीव फिलिप र गणित विषयका संकाय सदस्य गोपाल ढकालले विभिन्न विद्यालय तथा तालिम केन्द्रको निरीक्षण गरेका थिए।
​जुलाई २२ मा अधिकारीहरूले पदमचे माध्यमिक विद्यालय, कामारे जुनियर हाइस्कुल र जितलाङ जुनियर हाइस्कुलको अवलोकन गरी विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका थिए। उनीहरूले दुगा बीएसीअन्तर्गत जितलाङ जुनियर हाइस्कुलमा जारी क्लस्टर तालिमको समेत निरीक्षण गरे।
​त्यसैगरी, जुलाई २३ मा टोलीले राक्दोङ तिनटेक बीएसीअन्तर्गत चुबा सरस्वती प्राथमिक विद्यालय, साम्दोङ सिनियर सेकेन्डरी, काम्बल जुनियर हाइस्कुल र राले माध्यमिक विद्यालयको भ्रमण गरेको थियो। काम्बल जुनियर हाइस्कुलमा आयोजित बैठकमा उपनिर्देशक फिलिपले ‘विद्या प्रवेश’, ‘भाषा तथा साक्षरता कार्यक्रम’ (एलएलपी) र ‘सीएम-एसएनपी’ जस्ता फ्ल्यागसिप कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए।
​राले माध्यमिक विद्यालयमा सम्पन्न अनुगमनका क्रममा अधिकारीहरूले कक्षा ३ र ४ का विद्यार्थीहरूका लागि सञ्चालित नमूना कक्षाको अवलोकन गर्दै शिक्षण विधि, विद्यार्थी सहभागिता र सामग्रीको प्रयोगबारे रचनात्मक सुझाव दिएका थिए।
​उपनिर्देशक राजीव फिलिपको संयोजकत्वमा सम्पन्न यस कार्यक्रमले सिक्किमका सरकारी विद्यालयहरूमा गणितको जग मजबुत बनाउन ठूलो सहयोग पुग्ने एससीईआरटीले जनाएको छ।

About Author

Advertisement