सिलगढी: पश्चिम बङ्गाल सरकारको आयोजनामा सिलगढीको कावाखाली मैदानमा सञ्चालित ‘नयाँ फौजदारी कानुन प्रदर्शनी’ अन्तर्गत विद्यार्थी तथा सर्वसाधारणका लागि विभिन्न प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रमहरू आयोजना भइरहेका छन्। आगामी २६ अगस्टसम्म चल्ने यस प्रदर्शनीमा जनचेतना अभिवृद्धि र रचनात्मक सहभागिता बढाउने उद्देश्य राखिएको छ।यस कार्यक्रम अन्तर्गत २३ देखि २५ अगस्टसम्म दैनिक मध्याह्न १२:३० देखि १:३० बजेसम्म ह्याङ्गर–२ मा चित्रकला प्रतियोगिता सञ्चालन हुनेछ। महिला सुरक्षा, मोडल पुलिस थाना र न्याय प्रणाली विषयमा आयोजना हुने यस प्रतियोगितामा कक्षा ९ भन्दा माथिका विद्यालय तथा कलेजका विद्यार्थीहरूले भाग लिन पाउनेछन्।सोही दिनहरूमा अपराह्न ३:०० देखि ४:३० बजेसम्म ह्याङ्गर–२ मै निबन्ध लेखन प्रतियोगिता पनि सञ्चालन हुनेछ। साइबर अपराध, पुलिस व्यवस्थामा सुधार र लागूपदार्थ दुर्व्यसनी जस्ता गम्भीर विषयमा आधारित यस प्रतियोगितामा सबै उमेर समूहका विद्यार्थीहरूले हिन्दी, बङ्गाली वा अङ्ग्रेजी भाषामा अधिकतम १,००० शब्दसम्मको निबन्ध लेख्न सक्ने व्यवस्था मिलाइएको छ।प्रदर्शनीको मुख्य मञ्चमा अपराह्न ५:०० देखि ६:०० बजेसम्म नयाँ फौजदारी कानुनमा आधारित नाटक मञ्चन गरिनेछ, जसमा विभिन्न विद्यालय, कलेज तथा नाट्य समूहहरूले अधिकतम २० मिनेटसम्मको नाट्य प्रस्तुति दिनेछन्। यसका साथै प्रदर्शनी अवधिभर सबै आगन्तुकहरूका लागि १० वटा प्रश्नहरूसहितको क्विज प्रतियोगिता पनि आयोजना भइरहेको छ, जसमा हिन्दी, बङ्गाली र अङ्ग्रेजी भाषामा जोकोही सहभागी हुन सक्नेछन्।









