सिलगढी: ट्राफिक जाम हटाउन कञ्चनजङ्घा स्टेडियमको मेला मैदानलाई ‘पार्किङ जोन’ बनाइने, स्थलगत निरीक्षण​

Screenshot_20260630_231453_Facebook

सिलगढी: शहरको लामो समयदेखिको मुख्य समस्याका रूपमा रहेको सवारी पार्किङ र ट्राफिक जामलाई व्यवस्थित गर्न सिलगढी नगर निगम (एसएमसी) र सिलगुढी मेट्रोपोलिटन पुलिसले संयुक्त रूपमा कञ्चनजङ्घा स्टेडियमको मेला मैदान (फेयर ग्राउण्ड) को स्थलगत निरीक्षण गरेका छन्।
​मंगलबार नगर निगमका कमिस्नर वीर विक्रम राईको नेतृत्वमा गएको टोलीले उक्त मेला मैदानलाई एउटा व्यवस्थित र समर्पित पार्किङ जोनका रूपमा विकास गर्न सकिने सम्भाव्यताको अध्ययन गरेको हो।
​निरीक्षण टोलीमा डेपुटी कमिस्नर अफ पुलिस (ट्राफिक) क्वाजी समसुद्दिन अहमद, नगर निगम तथा पुलिसका उच्च अधिकारीहरू र सिलगढीका व्यावसायिक संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा टोलीले उक्त क्षेत्रको म्यापिङ गर्दै धेरैभन्दा धेरै सवारी साधनहरू कसरी अटाउन सकिन्छ र गाडी भित्रिने तथा बाहिरिने (इन्ट्री-एग्जिट) रुटलाई कसरी सहज बनाउने भन्नेबारे विस्तृत छलफल गरेको थियो।
​निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कमिस्नर राईले कञ्चनजङ्घा स्टेडियमको मेला मैदानमा पार्किङ स्थल निर्माण गर्ने ठूलो सम्भावना रहेको बताए। उनले यस परियोजनाका लागि आवश्यक पूर्वाधार र आर्थिक बजेट व्यवस्थापनका विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको जानकारी दिए।
​व्यावसायिक क्षेत्रका प्रतिनिधि राजु साहले सिलगढीमा पर्याप्त पार्किङ स्थल नहुनु सबैभन्दा ठूलो समस्या रहेको बताए। निश्चित पार्किङ जोन नहुँदा चालकहरूले सडकमै गाडी पार्क गर्न बाध्य भएको र यसले गर्दा दैनिक रूपमा भयानक ट्राफिक जाम हुने गरेको उनले उल्लेख गरे। नयाँ पार्किङ जोन बनेमा ग्राहक र व्यापारी दुवैलाई ठूलो राहत मिल्ने साहको भनाइ छ।

About Author

Advertisement