पर्यटक ठग्ने नक्कली ट्राभल एजेन्सी नियन्त्रण गर्न पश्चिम बंगाल सरकारले नयाँ एप र वेबसाइट ल्याउँदै

FB_IMG_1782839881020

सिलगढी: पश्चिम बंगालको भ्रमणमा आउने पर्यटकहरूलाई नक्कली र ठग ट्राभल एजेन्सीहरूबाट जोगाउन त्यहाँको पर्यटन विभागले ठुलो कदम चाल्ने भएको छ। पर्यटकहरूलाई सुरक्षित र भरपर्दो सेवा सुनिश्चित गर्न विभागले चाँडै नै एउटा छुट्टै मोबाइल एप र वेबसाइट सार्वजनिक गर्ने तयारी गरेको छ।
​मंगलबार सिलगढीमा पर्यटन विभागद्वारा आयोजित एक महत्त्वपूर्ण बैठकमा होटल व्यवसायी, ट्राभल अपरेटर, होमस्टे संचालक र पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा पर्यटन मन्त्री डा. शङ्कर घोष, दार्जिलिङका सांसद राजू विष्ट र विभागका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।
​पर्यटन मन्त्री डा. घोषका अनुसार उक्त नयाँ एपमा राज्यका सबै दर्ता भएका वैध ट्राभल एजेन्सीहरूको विवरण रहनेछ। पर्यटकहरूले एपमार्फत प्रमाणित पर्यटकीय स्थल, होटल र ट्राभल प्याकेजको जानकारी लिनुका साथै सिधै बुकिङ समेत गर्न सक्नेछन्, जसले गर्दा ठगीका घटनामा उल्लेख्य कमी आउने विश्वास गरिएको छ।

​मन्त्री डा. घोषले बिना अनुमति ‘होमस्टे’ को बोर्ड राखेर व्यवसाय चलाउनेहरूलाई कडा चेतावनी दिँदै सरकारी नियम र मापदण्ड पुरा गरेको कागजात अनिवार्य हुनुपर्ने बताएका छन्। प्रविधिको प्रयोग मार्फत पर्यटन क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मैत्रीपूर्ण बनाउन यो पहल गरिएको सरकारले जनाएको छ।

About Author

Advertisement