अल्पसंख्यकका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता
सिलगढी: दार्जिलिङका सांसद राजु बिष्टले ‘जोइन्ट फोरम पहाड-तराई क्रिश्चियन वेलफेयर अर्गनाइजेसन’का प्रतिनिधिहरूसँग सिलगढीस्थित आफ्नो कार्यालयमा छलफल गरेका छन्।
२० सदस्यीय प्रतिनिधिमण्डलसँग भएको भेटमा सङ्गठनका अध्यक्ष रमेश गुरुङले पहाड र तराई क्षेत्रका क्रिश्चियन समुदाय तथा धार्मिक सभाहरूले भोग्नुपरेका विभिन्न समस्या, चुनौती र आवश्यकताहरूबारे सांसद बिष्टलाई ध्यानाकर्षण गराएका थिए। प्रतिनिधिमण्डलले “सबका साथ, सबका विकास” को भावना अनुरूप अल्पसंख्यक समुदायको कल्याण र सरोकारका विषयलाई उचित प्राथमिकता दिन आग्रह गरेको छ।
भेटका क्रममा सांसद बिष्टले आफू सधैँ अल्पसंख्यक समुदायको साथमा उभिने र उनीहरूका जायज मागहरूलाई सम्बोधन गर्न प्रतिबद्ध रहने आश्वासन दिए। विकास र न्याय बिनाकुनै भेदभाव समाजका प्रत्येक वर्गसम्म पुग्नुपर्नेमा उनले जोड दिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी र विरोधी दलका नेता सुवेन्दु अधिकारीको नेतृत्वमा सबै जात, वर्ग, धर्म र जातिका मानिसहरूका लागि समावेशी विकासका कामहरू निरन्तर जारी रहने सांसद बिष्टले बताए।









