सिलगढीमा सम्पन्न बैठक गोर्खाहरूका लागि एउटा ऐतिहासिक र आशाजनक क्षण हो: चन्दन प्रसाद

IMG-20260823-WA0066

खरसाङ: केन्द्रीय गृहमन्त्री अमित शाहको उपस्थितिमा सिलगढीमा सम्पन्न बैठक र निर्णय गोर्खाहरूका लागि एउटा ऐतिहासिक र आशाजनक क्षण हो। केन्द्रमा भाजपा सरकार आएदेखि नै भाजपा निरन्तर गोर्खाहरूका पक्षमा उभिँदै आएको छ र हाम्रो दीर्घकालीन समस्या समाधानका लागि इमानदार प्रयास गर्दै आएको छ भनी भारतीय जनता पार्टीको खरसाङका नेता, दार्जिलिङ जिल्ला मिडिया प्रभारी एंव भाजपा तीनधारे महानदी मण्डलको इन्चार्ज चन्दन प्रसादले बताएका छन्‌। उनले
एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्,’पहिले वार्ता र बैठकको वातावरण बनाउन पहाड बन्द गर्नुपर्थ्यो, विद्यालयहरू बन्द गर्नुपर्थ्यो, आन्दोलन र अशान्तिको अवस्था सिर्जना गर्नुपर्थ्यो। तर आज समय परिवर्तन भएको छ। बैठकका लागि न पहाड बन्द हुँदैछ, न विद्यालय बन्द हुँदैछ। संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियामार्फत समाधान खोज्ने वातावरण बनेको छ। यही नै आजको सबैभन्दा ठूलो सकारात्मक परिवर्तन हो।’
चन्दन प्रसादले अघि भने, ‘यस ऐतिहासिक पहलका लागि माननीय सांसद राजु विष्टको निरन्तर पहल, नेतृत्व र प्रतिबद्धता अत्यन्तै सराहनीय छ। दार्जिलिङका सांसद निर्वाचित भएदेखि नै उनले पहाड र गोर्खाहरूका दीर्घकालीन मुद्दालाई निरन्तर रूपमा उठाउँदै, अगुवाइ गर्दै र समाधानका लागि केन्द्र सरकारसमक्ष दृढतापूर्वक प्रस्तुत गर्दै आएका छन्।’
उनले अझ भने, ‘आज हामी गोर्खाहरूका दीर्घकालीन समस्या समाधानको दिशामा निर्णायक चरणतर्फ अघि बढिरहेको महसुस गर्दैछौँ। यस पहलको ठूलो श्रेय राजु बिस्टा ज्यूको निरन्तर प्रयास र नेतृत्वलाई जान्छ। उहाँ यस क्षेत्रका सांसद नभएको भए सायद आजको यो पहल यति प्रभावकारी रूपमा अगाडि बढ्न सक्ने थिएन। साथै, माननीय गृहमन्त्री अमित शाहलाई हार्दिक धन्यवाद छ। उनले निरन्तर रूपमा गोर्खाहरूका समस्यालाई गम्भीरतापूर्वक बुझ्दै, समाधानको बाटो खोज्दै र यस प्रक्रियालाई अगाडि बढाउँदै आएका छन्। यस बैठकको सबैभन्दा महत्वपूर्ण र सकारात्मक पक्ष भनेको पहाडका प्रमुख तथा निर्णय निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका राख्ने सबै नेताहरू एउटै बैठकमा उपस्थित हुनु हो। यसले गोर्खाहरूको दीर्घकालीन समस्याको समाधानका लागि एउटा बलियो र सकारात्मक सन्देश दिएको छ।’ उनले भने, ‘अब आशा मात्र होइन, विश्वास गर्ने आधार पनि बनेको छ।गोर्खाहरूको भविष्य अझ उज्ज्वल हुनेछ र हाम्रो दीर्घकालीन समस्याको सम्मानजनक समाधान चाँडै हुनेछ।’

About Author

Advertisement