३० अगस्तः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा ईष्ट बेंगल जूनियर (राजगञ्ज)- ले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। सिमुलबारी खेल मैदानमा मंगलवार खेलिएको पूल बी-को म्याचमा ईष्ट बेंगल जूनियरले कालेबुङ (Kalimpong) पुलिसलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा ईष्ट बेंगल जूनियरबाट फरमान अन्सारीले १७औं मिनटमा गोल गरे। यसरी नै कालेबुङ पुलिसबाट रोशन राईले मध्यान्तरको ठीक अघि गोल गरे। विजेता टीमका फरमान अन्सारीलाई प्लेयर अव् द म्याच चयन गरियो। आजको म्याचसँगै पहिलो राउण्ड समाप्त भयो। अब बुधवार खेलिने पहिलो प्री-क्वार्टर फाइनल म्याचमा यूकेएफसी र नर्थ बेंगल आर्म्ड पुलिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल १३ सेप्टेम्बरमा हुनेछ।











