खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ ज्ञानकुञ्ज सोसियल वेलफेयर सोसाइटीद्वारा सञ्चालित ज्ञानकुञ्ज एकाडेमीको वार्षिक कार्यक्रम सिटोङ ट्राइबल माध्यमिक शिक्षा केन्द्र सम्प्रसारक प्रमुख बीएम राईको सभापतित्वमा सिटोङ ट्राइबल माध्यमिक शिक्षा केन्द्र प्रेक्षागृहमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै समाजसेवी विक्रम राईले एक सचेत नागरिकका रुपमा शिक्षाको क्षेत्रमा सबैले आ-आफ्नो तर्फबाट सकिने भूमिका खेल्नपर्ने बताए। यसका साथै आगामी सत्रदेखि स्कूल टपर विद्यार्थीलाई आर्थिक पुरस्कार प्रदान गर्ने पनि घोषणा गरे। त्यसै गरी आफ्नो वक्तव्य राख्दै विशिष्ट अतिथि रतन गुरुङले विद्यालयलाई परेको खण्डमा आफू सदैव अघि आएर सहयोग पुऱ्याउने वचनबद्धता जाहेर गरे। सभा अध्यक्ष बीएम राईले आफ्नो वक्तव्यको क्रममा प्राथमिक स्तरको शिक्षाको महत्वबारे प्रकाश पार्दै ज्ञानकुञ्ज एकाडेमीले गरिरहेको शैक्षिक कार्यको प्रशंसा गरे।

कार्यक्रममा नानीहरूले गीत, नृत्य, कविता इत्यादि प्रस्तुत गरे। विभिन्न विद्यार्थी नानीहरू अनि प्राचार्य सञ्जीव छेत्रीद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि विक्रम राईलाई विद्यालय परिवारको पक्षबाट सम्वर्द्धना जनाइयो। अध्यक्षको बाहुलीबाट टोपी अनि दोसल्ला ओडाएपछि पाठशालाका शिक्षक शिक्षिकाका बाहुलीबाट सम्वर्द्धना पत्र प्रदान गरी सम्वर्द्धना जनाइएको थियो। त्यसै गरी आफ्नो कक्षामा अव्वल आउने विद्यार्थीहरुलाई प्रमाणपत्र पनि प्रदान गरियो। कार्यक्रममा वरिष्ठ समाजसेवी पीबी मल्ल, दिलकुमार राई, सुशील सुब्बा, गेछिरिङ लेप्चा, रामकुमार छेत्री, भानु राई, सोनाम शेर्पा, राजेश राई, भुपेश खवास, सन्ध्या आचार्य, देविका छेत्री, नितेश छेत्री, दिपीका खवास, सुदेन लेप्चा, सीएम राई, बुनु शर्मा, किशोर राई, अमृता मगर लगायत विद्यार्थी, अभिभावक एवम् अन्यको उपस्थिति रहेको थियो।









