खरसाङ (19 सेप्टेम्बर): खरसाङ महकुमा अन्तर्गत सिटोङको एक होमस्टेमा बारबीक्यू गर्ने क्रममा आगलागीबाट पर्यटक घाइते भएको घटना सम्बन्धमा पुलिसले मालिकसहित चारजनालाई पक्राउ गरेको छ। पक्रा परेका चारजनालाई शनिवार खरसाङ अदालतमा पेश गरिएको थियो जहाँ उनीहरूलाई जमानत दिन अस्वीकार गरिएको छ र थप अनुसन्धानका लागि चार दिनको पुलिस हिरासतमा पठाइएको जानकारी प्राप्त भएको छ। यो घटना गत 13 सेप्टेम्बरमा भएको थियो जब नवविवाहित जोडी – सौविक दास र उनकी पत्नी निकिता साहा (दास) उत्तर दिनाजपुर जिल्लाको चोपडाबाट हनिमुन मनाउन सिटोङको एक होम स्टेमा आएका थिए। कर्मचारीले बारबेक्यू बाल्ने प्रयास गर्दा निकिता आगो लागेर गम्भीर घाइते भएकी थिइन्। घटनापछि निकितालाई उपचारको लागि सिलगढीको एक निजी अस्पताल लगिएको थियो जहाँ उनी हाल उपचाराधीन अवस्थामा छन्। उनका पति सौविक दासले खरसाङ पुलिस थानामा घटनाको बारेमा एफआईआर पनि दर्ता गरेका थिए। उनले होमस्टेमा आगो निभाउने उपकरण र अन्य आपतकालीन व्यवस्थाको अभाव रहेको र कर्मचारीहरूले तुरुन्तै सहयोग नगरेको आरोप लगाएका थिए। पक्राउ परेका चार जनामा होमस्टेका कर्मचारी नसिरुद्दीन, दिपेन लामा, नेहाल ऐरन र पवन कुमार अग्रवाल सामेल छन्। खरसाङ अदालतका पीपी सरोज सिन्हाले यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भने, पर्यटक सौविक दासले दायर गरेको उजुरीको सम्बन्धमा खरसाङ थानाका पुलिसले चारजनालाई पक्राउ गरेर अदालतमा पेश गरेको थियो। पीपीका अनुसार अदालतले आरोपीको जमानत निवेदन अस्वीकार गर्दै थप अनुसन्धान गर्न सकोस् भनेर चारैजनालाई चार दिनको पुलिस हिरासतमा राखेको बताएका छन्।





