खरसाङ (१९ सेप्टेम्बर): खरसाङको मन्टिभियट खेल मैदानमा स्व लुते सिंह सार्की विजेता अनि स्व सुखमाया सार्की उप विजेता त्रिस्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ। यस अन्तर्गत शनिवार अण्डर १४ बोइस लिगको दुईवटा खेलहरू सम्पन्न भयो। दिनको प्रथम खेल सन्त अल्फन्सेस स्कूल बनाम महानदी एफसीमाझ सम्पन्न भयो। यो खेल एकदमै रोचक रह्यो भने अन्तिम समयमा अंश प्रधानको गोलको सहायताले सन्त अल्फन्सेस स्कूलले महानदी एफसीलाई २ को विरुद्ध ३ गोल गरी विजयी बनेको छ। सन्त अल्फन्सेस स्कूलका अंश प्रधान जसले दुइवटा गोल गरे, उसलाई उक्त खेलको सर्वश्रेष्ठ खेलाडी घोषित गरियो। अण्डर १४ अन्तर्गत नै दिनको दोस्रो खेल एकतर्फी रह्यो, जसमा हिल फुटबल एकाडेमीले नयाँ बस्ती एफसीलाई १० – ० को ठूलो अन्तरले पराजित गरेको छ। अब आइतबार २० सेप्टेम्बरको दिन अन्तर कार्यालय फ्रेन्डशीप कप लिग अन्तर्गत एउटा खेल हुनेछ, जसमा खरसाङ महकुमा फरेस्ट बनाम हाइड्रो कार्यालय माझ हुनेछ। ज्ञात रहोस् अण्डर १४ बोइस अनि गर्ल्स ओपन फुटबल खेलको फाइनल आगामी २ अक्टोबरको दिन हुनेछ भने अन्तर कार्यालय फ्रेन्डशीप लिग कम नक आउट फुटबल प्रतियोगिताको फाइनल 3नअक्टोबरमा हुनेछ। शनिवार भएको खेलहरूको सञ्चालन जिग्मी लेप्चा, मदन शेर्पा अनि अमित सार्की ले गरेका थिए। यस खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै यस प्रतियोगिताका संयोजक एवं खरसाङ महकुमा खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङले विस्तृत जानकारी गराएका छन्।





