असम: वैज्ञानिक दीपज्योति पाटगिरीलाई नासा को अवसर

IMG-20260919-WA0057

मुख्यमन्त्री सरमाले भने: माध्यम होइन, मेहनत नै सफलताको आधार

गुवाहाटी: असमको बजाली जिल्लास्थित पथशालाका वैज्ञानिक डा. दीपज्योति पाटगिरीले अमेरिकाको विश्वप्रसिद्ध नासाको गोड्डार्ड स्पेस फ्लाइट सेंटरमा पोस्टडक्टोरल अनुसन्धानकर्ताका रूपमा काम गर्ने अवसर पाएपछि असममा खुसी र गौरवको माहोल बनेको छ।
असमका मुख्यमन्त्री हिमन्त बिस्व सरमाले सामाजिक सञ्जालमार्फत डा. पाटगिरीको उपलब्धिप्रति खुसी व्यक्त गर्दै उनलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएका छन्।
मुख्यमन्त्री सरमाले डा. पाटगिरीको सफलतालाई सम्पूर्ण असमवासीका लागि गर्वको विषय भएको उल्लेख गर्दै उनको शैक्षिक यात्राले अध्ययनको माध्यम सफलताको बाटोमा बाधक नहुने सन्देश दिएको बताएका छन्।
मुख्यमन्त्री सरमाका अनुसार असमिया माध्यमको विद्यालयबाट आफ्नो शैक्षिक यात्रा सुरु गरेका डा. पाटगिरीले मिहिनेत, लगनशीलता र समर्पणका बलमा अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण अवसर हासिल गरेका हुन्। उनले डा. पाटगिरीको उपलब्धिले असमका युवा पुस्तालाई विज्ञान तथा अनुसन्धानको क्षेत्रमा नयाँ सपना देख्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
पथशालामा प्रारम्भिक शिक्षा हासिल गरेका पाटगिरीले पछि उच्च शिक्षाका लागि कॉटन यूनिवर्सिटी र आईंआईंटी रूडकीमा अध्ययन तथा अनुसन्धान गरेका थिए। आईंआईंटी रूडकी को अनुसन्धान समूहको विवरणअनुसार उनले भौतिकशास्त्रमा स्नातक र स्नातकोत्तर अध्ययनपछि अन्तरिक्ष तथा वायुमण्डलीय भौतिकशास्त्रमा अनुसन्धान अघि बढाएका थिए।
पाटगिरीको अनुसन्धान कार्य अन्तरिक्ष तथा पृथ्वीको वायुमण्डलीय वातावरणसँग सम्बन्धित छ। उनको सहलेखनमा प्रकाशित अनुसन्धानपत्र पनि अन्तरिक्ष–वायुमण्डलीय घटनासँग सम्बन्धित रहेको देखिन्छ।
नासा को गोड्डार्ड स्पेस फ्लाइट सेंटर पृथ्वी, सूर्य, सौर्यमण्डल तथा ब्रह्माण्डको अध्ययनका लागि अन्तरिक्षयान, उपकरण र नयाँ प्रविधि विकास गर्ने नासाको प्रमुख वैज्ञानिक तथा प्राविधिक केन्द्रमध्ये एक हो।
मुख्यमन्त्री सरमाले डा. पाटगिरीको सफलताले विश्व वैज्ञानिक मञ्चमा असमको पहिचान अझ उज्यालो बनाउने विश्वास व्यक्त गर्दै उनको आगामी अनुसन्धान यात्राका लागि शुभकामना दिएका छन l

About Author

Advertisement