खरसाङ (१८ सेप्टेम्बर) : खरसाङ महकुमा अन्तर्गत सिटोङस्थित एक होमस्टेमा बोनफायरका क्रममा नवविवाहित महिला गम्भीर रूपमा अचानक आगो उठेर परी घाइते भएको घटना सार्वजनिक भएको छ। उक्त घटना १३ सेप्टेम्बर आईतबार भएको बताइएको छ। प्राप्त जानकारीअनुसार उत्तर दिनाजपुर जिल्लाको चोपडा निवासी नवविवाहित दम्पत्ति समीर दास र निकीता साहा (दास) हनिमुनका लागि सिटोङ पुगेका थिए। होमस्टेमा बस्ने क्रममा भएको उक्त घटनामा निकीता “बारबी क्यु” जलाउने क्रममा आगोमा परी गम्भीर घाइते भएकी छन्। घटनापछि पीडित निकीतालाई होमस्टे पक्षबाट तत्काल उपचारका लागि सिलगढीको निजी अस्पतालमा उपचारको निम्ति लगिएको थियो। हाल उनको उपचार भइरहेको जनाइएको छ। घटनालाई लिएर खरसाङ पुलिस थानामा एफआईआर दर्ता गरिएको छ। घटनाको अनुसन्धानका क्रममा खरसाङ थानाका पुलिसले शुक्रवार सिटोङ एक ग्राम पञ्चायतस्थित एक होमस्टेमा पुगेर स्थलगत छानबीन समेत गरेको छ। पुलिसले घटनास्थलको निरीक्षण गर्नुका साथै घटनासँग सम्बन्धित विभिन्न पक्षबारे जानकारी संकलन गरेको बताइएको छ।
यसैबीच, होमस्टेका मालिक पवन कुमार अग्रवालले पीडित निकीताको उपचारका लागि आवश्यक सहयोग गर्ने बताएका छन्। होमस्टेका व्यवस्थापक दिपेन तामाङले घटना हुनासाथ घाइते महिलालाई उपचारका लागि होमस्टे पक्षबाट सिलगडीस्थित नर्सिङ होममा पुर्याइएको जानकारी दिएका छन्। घटनाको वास्तविक कारणबारे पुलिसले अनुसन्धान अघि बढाइरहेको छ। एफआईआरमा उल्लेख गरिएका आरोप तथा घटनाको जिम्मेवारीसम्बन्धी विषय अनुसन्धानपछि मात्र स्पष्ट हुने पुलिसले जनाएको छ।





