मङ्गन: सिक्किमको मङ्गन जिल्लाअन्तर्गत चुङथाङ जोन ३ को सिङ्घिक आँगनबाडी केन्द्र (एडब्ल्यूसी) मा पोषण अभियान २०२६ को क्षेत्रस्तरीय समापन कार्यक्रम सम्पन्न भएको छ। पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र स्वस्थ खानपानको बानी बसाल्न सामुदायिक सहभागितालाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।महिला, बाल, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभाग, मङ्गन जिल्लाद्वारा जारी विज्ञप्तिअनुसार कार्यक्रममा चुङथाङ जोन ३ का सुपरभाइजर, पोषण निरीक्षक, हब (HUB) का लैङ्गिक तथा वित्त विशेषज्ञ, आँगनबाडी कार्यकर्ता, आमाहरू तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।कार्यक्रमको सुरुआत गर्दै चुङथाङ जोन ३ का सुपरभाइजर थुपदेन भोटियाले पोषण अभियानको महत्त्व र यस वर्षको विषयवस्तु (थिम) लाई दैनिक जीवनमा अँगाल्नुपर्नेमा जोड दिए। उनले पोषणसम्बन्धी पहलहरूलाई सफल बनाउन आँगनबाडी कार्यकर्ता तथा समुदायको सक्रिय भूमिकाको प्रशंसा गरे।कार्यक्रमका दौरान पोषण निरीक्षक सोनाम नामग्याल भोटियाले सन्तुलित आहार, खाद्य विविधता र विभिन्न खाद्य समूहको पोषकीय महत्त्वबारे जानकारी गराएका थिए। उनले खाद्य मिसावट, महँगा पौष्टिक आहारको साटो प्रयोग गर्न सकिने किफायती विकल्पहरू र बालबालिकाको सही शारीरिक तथा मानसिक विकासका लागि स्वस्थ खानपानको भूमिकाबारे प्रकाश पारे।यसैगरी, हबकी लैङ्गिक विशेषज्ञ पन्चामित लेप्चाले महिला सशक्तीकरणका लागि सञ्चालित सरकारी योजनाहरू, वान स्टप सेन्टर र यसले पुर्याउने सेवाहरूबारे जनचेतनामूलक जानकारी गराइन्।कार्यक्रमको अन्त्यमा आँगनबाडी कार्यकर्ता तथा सहयोगीहरूले पौष्टिक परिकारहरू तयार पारी तिनको पोषकीय गुणबारे प्रदर्शन गरेका थिए। सहभागीहरूका जिज्ञासा समाधान गर्दै समापन गरिएको उक्त कार्यक्रमले पोषणयुक्त समाज निर्माणका लागि दैनिक जीवनमा साना तर स्वस्थ विकल्पहरू रोज्न प्रेरित गरेको छ।





