सारेङ: सिक्किम राज्य ग्रामीण विकास तथा पञ्चायती राज संस्थान (एसआईआरडी एन्ड पीआर), कार्फेक्तारमा आयोजित ‘ग्रामीण विकास कार्यक्रमहरूमा सुशासन र जनसेवा प्रवाह’ विषयक पाँच दिने तालिम शुक्रबार (अक्टोबर ९) सम्पन्न भएको छ।
अक्टोबर ५ देखि सुरु भएको तेस्रो ब्याचको उक्त तालिम कार्यक्रममा सारेङ जिल्लाका तीनवटा ब्लक (कालुक, मङ्गलबारिया र बैगुने) का गरी कुल ९१ जनाको सहभागिता रहेको थियो। ग्रामीण क्षेत्रमा आधारभूत सुशासन सुदृढ बनाउन, प्रशासनिक दक्षता अभिवृद्धि गर्न र जनसेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
तालिममा जनप्रतिनिधि, सहायक निर्देशक, गाउँ प्रशासनिक सहायक (भीएए/कनिष्ठ भीएए), कार्यालय सहायक, परियोजना तथा अनुगमन सहायकलगायतका क्षेत्रगत कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सुशासनका सिद्धान्त, संस्थागत मूल्य-मान्यता, कार्यालय व्यवस्थापन, पञ्चायतको आफ्नै स्रोतबाट राजस्व सङ्कलन (ओएसआर), संविधानको ११ औँ अनुसूचीअन्तर्गतका २९ विषय, नागरिक बडापत्र र अभिलेख व्यवस्थापनजस्ता विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो।
एसआईआरडी एन्ड पीआर सिक्किमका निर्देशक विशाल मुखियाको मार्गदर्शनमा आयोजित उक्त तालिमको नेतृत्व उपनिर्देशक डा. तारा शर्माले गरेकी थिइन्। कार्यक्रममा विभिन्न ब्लकका कनिष्ठ प्राध्यापकहरू, जोरेथाङका खण्ड विकास अधिकारी मुकेश दाहाल तथा सहरी विकास विभागका उपनिर्देशक केशर राईले सहजीकरण गरेका थिए।
यसैगरी, तान्जी-बिकमत जीपीयूका पञ्चायत अध्यक्ष अर्जुन कुमार राईले स्थानीय शासन, स्रोत परिचालन र प्रभावकारी सेवा प्रवाहसम्बन्धी व्यावहारिक अनुभव साटासाट गरेका थिए। तालिमका क्रममा सहभागीहरूलाई जोरेथाङ ब्लकस्थित पोकलोक ग्राम पञ्चायत केन्द्रको व्यावहारिक अध्ययन अवलोकन समेत गराइएको थियो।
सहभागीहरूले पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वमा आधारित ‘सुशासन तथा जनसेवा प्रवाह कार्ययोजना’ तयार पारेका थिए। एसआईआरडी एन्ड पीआर सिक्किमले पञ्चायती राज संस्थाहरू र ग्रामीण विकासमा खटिएका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै नागरिककेन्द्रित शासन प्रणाली प्रवर्द्धनमा निरन्तर योगदान पुर्याउँदै आएको छ।





