गान्ताेक: भारत निर्वाचन आयोग (ईसीआई) को निर्देशनअनुसार मतदाता नामावलीमा नाम छुटेका र नयाँ (युवा) मतदाता दर्ताका लागि सञ्चालन गरिने विशेष अभियानबारे गान्तोकमा समीक्षा बैठक सम्पन्न भएको छ।
गान्तोकस्थित जिल्ला प्रशासनिक केन्द्र (डीएसी) मा शुक्रबार जिल्लापाल एवं जिल्ला निर्वाचन अधिकारी रोहन अगवानेको अध्यक्षतामा बैठक बसेको हो।
बैठकमा जिल्ला निर्वाचन अधिकारी अगवानेले मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्दै हालको मतदाता नामावलीमा नाम समावेश नभएका योग्य नागरिकहरूलाई दर्ता प्रक्रियामा सहभागी गराउने उपायहरूबारे जानकारी गराए।
निर्वाचन आयोगको निर्देशानुसार, विशेष गहन पुनरीक्षण (एसआईआर) अघिको नामावलीमा नाम भएका तर हाल छुटेका र पहिलोपटक नाम दर्ता गराउन चाहने युवाहरूलाई लक्ष्य गरी यो अभियान चलाउन लागिएको हो।
अभियानलाई प्रभावकारी बनाउन बुथ लेभल अफिसर (बीएलओ), निर्वाचन दर्ता अधिकारी (ईआरओ) र राजनीतिक दलहरूबीच समन्वय हुनुपर्नेमा जोड दिइएको छ। बीएलओहरूलाई पुराना र हालका नामावली तुलना गरी छुटेका नागरिकको पहिचान गर्न र घरदैलो कार्यक्रममार्फत फारम-६ भरौना निर्देशन दिइएको छ।
साथै, मजदुर बस्ती, रात्रिकालीन आश्रयस्थल र घरविहीन तथा सीमान्तकृत समुदायका नागरिकलाई सहज बनाउन विशेष शिविर सञ्चालन गरिनेछ। ‘स्वीप’ कार्यक्रम तथा जनचेतनामूलक गतिविधिमार्फत मतदाता दर्ताबारे जानकारी गराइने बैठकमा जनाइएको छ।





