नयाँ दिल्ली: दक्षिण भारतीय परिकारमा ‘डोसा’ सधैँ नै लोकप्रिय खाजाका रूपमा लिइन्छ। यद्यपि, सधैँ एउटै शैलीको परम्परागत डोसा खाएर केही नयाँ स्वाद लिन चाहनेहरूका लागि ‘बन डोसा’ एउटा उत्कृष्ट विकल्प बन्न सक्छ। बाहिरबाट हल्का कडा (क्रिस्पी) र भित्रबाट असाध्यै नरम (स्पोन्जी) हुने यो डोसा स्वादिलाे हुनुका साथै बनाउन पनि निकै सजिलो छ।
अघिल्लो दिनदेखि नै पिठो मुछेर राख्नुपर्ने वा उम्लिन (फर्मेन्ट हुन) दिनुपर्ने झन्झटबिनै सूजी (सोजी) र दहीको प्रयोग गरी १० मिनेटमै यो डोसा तयार पार्न सकिन्छ।
आवश्यक सामग्री र बनाउने विधि~
मिश्रण तयार पार्ने: एक भाँडोमा १ कप सूजी, ३/४ कप दही र आधा कप पानी राखेर राम्ररी मिसाउने। सूजीले पानी र दही सोसेर फुलोस् भन्नका लागि यसलाई केही बेर ढकेर राख्नुपर्छ।
तड्का (झाने सामग्री): एक प्यानमा थोरै तेल तताएर तोरीको गेडा, जिरा, मासको दाल, मसिनो गरी काटिएको प्याझ र कडीपत्ता हालेर फुराउने। प्याझ हल्का रातो भएपछि ग्याँस बन्द गरी त्यसलाई सेलाउन दिने।
पेस्ट बनाउने: फुलेको सूजी र दहीको मिश्रणलाई मिक्सी (ग्राइन्डर) मा राखेर मसिनो गरी पिस्ने। पिसेको पेस्टलाई भाँडोमा निकालेर अघि तयार पारिएको प्याझको तड्का र मसिनो गरी काटिएको हरियो धनियाँ मिसाउने।
बेकिङ सोडा प्रयोग गर्ने: डोसालाई पाउरोटी (बन) जस्तै फुलाउन र नरम बनाउन १/४ चिया चम्चा बेकिङ सोडा हाल्ने र सोडा सक्रिय गराउन माथिबाट थोरै पानी छर्किएर एकै दिशामा बिस्तारै चलाउने।
पकाउने र पस्किने: सानो वा गहिरो प्यानमा थोरै तेल वा घिउ लगाएर सानो आँचमा तताउने। प्यानमा २ चम्चा जति मिश्रण हालेर ढकनीले ढकिदिने। डोसा भित्रसम्म पाकेपछि र तल्लो भाग सुनौलो भएपछि बिस्तारै फर्काएर अर्को तर्फ पनि ३० देखि ४० सेकेन्डसम्म सेक्ने।
यसरी तयार भएको तातोतातो बन डोसालाई नरिवलको चटनी वा पिरो दक्षिण भारतीय ‘कारा’ चटनीसँग खाजाका रूपमा प्रयोग गर्न सकिन्छ।





