सिक्किम राज्य मानव अधिकार आयोगको अध्यक्षमा पूर्व न्यायाधीश मीनाक्षी मदन राई नियुक्त

FB_IMG_1787595574492

गान्ताेक: पटना उच्च अदालतकी पूर्व मुख्य न्यायाधीश मीनाक्षी मदन राई सिक्किम राज्य मानव अधिकार आयोगको अध्यक्ष पदमा नियुक्त भएकी छन्। सिक्किम सरकारको गृह विभागद्वारा जारी सूचना अनुसार राज्यपालले उनलाई उक्त पदमा नियुक्त गरेका हुन्।
​सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)-ले सामाजिक सञ्जालमार्फत पूर्व न्यायाधीश राईलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री गोलेका अनुसार एसकेएम सरकारको नेतृत्वमा भइरहेको महिला सशक्तीकरणको यो एउटा उत्कृष्ट उदाहरण हो। महिलाहरूलाई नेतृत्व प्रदान गर्न, सेवा गर्न र जिम्मेवार पदहरूमा अर्थपूर्ण योगदान पुर्‍याउन समान अवसर दिनुपर्छ भन्ने सरकारको दृढ विश्वास रहेको उनले उल्लेख गरेका छन्।
​प्रशासन, शिक्षा, उद्यमशीलता, सार्वजनिक सेवा र नेतृत्वका सबै क्षेत्रमा महिलाहरूले आफ्नो पूर्ण क्षमताको विकास गर्दै सिक्किमको प्रगतिमा समान साझेदार बन्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्रीले जनाएका छन्। पूर्व न्यायाधीश राईको अनुभव, बौद्धिकता र समर्पणले राज्यमा मानव अधिकारको संरक्षण र प्रवर्द्धनलाई थप सुदृढ बनाउने विश्वास पनि मुख्यमन्त्री गोलेले व्यक्त गरेका छन्।

About Author

Advertisement