मङ्पु: साहित्य सृजना मञ्चको आयोजनामा कवि गगन वान्तावाद्वारा लिखित पहिलो कविता सङ्ग्रह ‘झरीका थोपाहरू’ को लोकार्पण कार्यक्रम आइतबार मङ्पुको सार्वजनिक भवनमा सम्पन्न भएको छ। साहित्य सृजना मञ्चका अध्यक्ष अमीर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार अर्जुनकुमार गुरुङ मुख्य अतिथिका रूपमा तथा वरिष्ठ साहित्यकार एवं सम्पादक सुभद्र बम्जन प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा साहित्य सृजना मञ्चको नामसमेत औपचारिक रूपमा उद्घाटन गरिएको थियो। कार्यक्रममा कञ्चन राईले स्वागत मन्तव्य राखेका थिए भने आयसा र साथीहरूको स्वागत नृत्य तथा जेसिका लिम्बूको गीत प्रस्तुत गरिएको थियो। यसै अवसरमा वरिष्ठ साहित्यकार सुभद्र बम्जनलाई सम्मानसमेत गरिएको थियो।
कविता सङ्ग्रहको परिचय डा. ज्ञानचन्द्र गुरुङले दिएका थिए भने आनन्द राईले सङ्ग्रहमाथि संक्षिप्त मन्तव्य राखेका थिए। त्यसपछि ‘झरीका थोपाहरू’ कविता सङ्ग्रहको औपचारिक लोकार्पण गरिएको थियो। लोकार्पणपछि कवि गगन वान्तावाले आफ्ना भनाइ राखेका थिए। कार्यक्रममा सम्मानित व्यक्तित्व सुमित्रा बम्जन, मुख्य अतिथि अर्जुनकुमार गुरुङ तथा सभापति अमीर गुरुङले साहित्य र सिर्जनाको महत्वबारे मन्तव्य राखेका थिए। कुसुम मगरको गीत तथा चाहत राई र साथीहरूको नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।बकार्यक्रमको अर्को आकर्षणका रूपमा विद्यार्थीवर्ग, साहित्य सृजना मञ्चका प्रतिनिधि कवि तथा अतिथि कविहरूको सहभागितामा कवि गोष्ठीसमेत आयोजना गरिएको थियो। विभिन्न कविहरूले आफ्ना कविता प्रस्तुत गरेका थिए।कार्यक्रमको सञ्चालन असीत थापाले गरेका थिए भने धन्यवाद ज्ञापन सञ्जय बान्तावाले गरेका थिए। ‘झरीका थोपाहरू’ गगन वान्तावाको पहिलो कविता सङ्ग्रहका रूपमा नेपाली साहित्य क्षेत्रमा नयाँ सिर्जनात्मक योगदानका रूपमा प्रस्तुत गरिएको आयोजक पक्षले जनाएको छ।









