गान्तोक: पर्यावरण संरक्षण र दिगो विकासप्रतिको राज्य सरकारको प्रतिबद्धतालाई थप मजबुत बनाउँदै सूचना तथा जनसम्पर्क विभाग (आईपीआरडी) ले आज सेलेप ट्याङ्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ‘भविष्यका लागि हरित सम्पदा: धरती माताका लागि एक बोट’ भन्ने मूल नाराका साथ जारी ‘सिक्किम पर्यावरण पर्व २०२६’ अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सूचना तथा जनसम्पर्क विभागका अध्यक्ष असित राई, सचिव अन्नपूर्ण एले, निर्देशक सुनील मोथे, विशेष कार्यअधिकारी (ओएसडी) पेमा छुल्टिम भोटिया र अतिरिक्त निर्देशक विशाल खवासको उपस्थिति थियो। त्यसैगरी, प्रेस क्लब अफ सिक्किम (पीसीएस) का अध्यक्ष समीरहाङ लिम्बू, उपाध्यक्ष विकास क्षेत्री, विभागका उपनिर्देशक साइमन सुब्बा लगायत अन्य अधिकारी तथा कर्मचारीहरूको पनि सहभागिता थियो।
वन विभागका ब्लक अफिसर एजेन लेप्चा र हेड एफजी उमेश राईको प्राविधिक सहयोगमा वृक्षारोपण कार्य सम्पन्न गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विभागका अध्यक्ष असित राईले वृक्षारोपण अभियानले पर्यावरण संरक्षण र राज्यको समृद्ध प्राकृतिक सम्पदा जोगाउने सरकारको दृढ संकल्पलाई प्रतिबिम्बित गरेको बताए। बिरुवा उपलब्ध गराएकोमा वन विभागप्रति आभार प्रकट गर्दै उनले कार्यक्रम सफल बनाउन सामूहिक प्रयास गर्ने सूचना तथा जनसम्पर्क विभागको टोलीको प्रशंसा गरे।
वृक्षारोपण कार्य बिरुवा रोप्ने कार्यमा मात्र सीमित हुन नहुनेमा जोड दिँदै अध्यक्ष राईले ती बिरुवाहरूको उचित वृद्धिका लागि नियमित अनुगमन र हेरचाह गर्न कर्मचारीहरूलाई आग्रह गरे। यस किसिमको पहलले आगामी वर्षहरूमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गर्दै उनले आज रोपिएका बिरुवाहरू आगामी पुस्ताका लागि दिगो हरित सम्पदाका रूपमा रहने बताए।
त्यस्तै, विभागकी सचिव अन्नपूर्ण एलीले वृक्षारोपण अभियानलाई सामूहिक कार्य र अन्तर-विभागीय समन्वयको उत्कृष्ट उदाहरणका रूपमा चित्रण गरिन्। उनले बिरुवा उपलब्ध गराउने वन विभाग, आवश्यक औजार तथा प्राङ्गारिक मल (भर्मीकम्पोष्ट) उपलब्ध गराउने बागवानी विभाग र यातायातको व्यवस्था मिलाउने सिक्किम राष्ट्रियकृत परिवहन (एसएनटी) लाई धन्यवाद ज्ञापन गरिन्।
सचिव एलीले कार्यक्रम स्थलको पूर्वतयारीमा खटिएका अधिकारी तथा कर्मचारीहरूको लगनशीलताको प्रशंसा गर्दै उनीहरूको प्रतिबद्धताकै कारण कार्यक्रम सफल भएको बताइन्। उनले बिरुवा रोपेपछिको हेरचाह निकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै सबै सहभागीहरूलाई बिरुवाको संरक्षण र वृद्धिका लागि समय–समयमा अनुगमन गर्न आग्रह गरिन्।
कार्यक्रममा प्रेस क्लब अफ सिक्किमका अध्यक्षले सरकारको ‘सिक्किम पर्यावरण पर्व’ अभियानको सराहना गर्दै यसले सरकारी विभाग, सामाजिक संस्था, खेलकुद निकाय र अन्य संघसंस्थाहरूलाई पर्यावरण संरक्षणमा सक्रिय रूपमा योगदान पुर्याउन प्रेरित गरेको बताए। उनले वृक्षारोपण कार्यक्रम आयोजना गरेकोमा सूचना तथा जनसम्पर्क विभागलाई बधाई दिँदै यस अभियानमा प्रेस क्लबलाई पनि समेटेकोमा धन्यवाद व्यक्त गरे।
विभागका उपनिर्देशक साइमन सुब्बाले वृक्षारोपणको सफलता कति बिरुवा रोपिए भन्ने संख्याले नभई कति बिरुवा जोगिए र सप्रिए भन्ने कुराले निर्धारण गर्ने बताए। वैज्ञानिक ढंगले बिरुवा रोप्ने पद्धतिको महत्त्वमाथि प्रकाश पार्दै उनले जरा वरपर पानी जम्न नदिने, नियमित गोडमेल गर्ने, मल हाल्ने र ‘ट्री गार्ड’ (बिरुवाको सुरक्षा घेरा) लगाउनुपर्ने आवश्यकतामा जोड दिए। उनले रोपिएका बिरुवाहरूलाई दीर्घकालीन रूपमा जोगाउन सबैलाई सामूहिक रूपमा काम गर्न आह्वान गरे।
अधिकारी, कर्मचारी र आमन्त्रित अतिथिहरूले सेलेप ट्याङ्कको तोकिएको क्षेत्रमा बिरुवा रोपेसँगै वृक्षारोपण कार्यक्रम समापन भएको थियो। यस अभियानले पर्यावरण संरक्षण र हरित तथा दिगो सिक्किम निर्माणप्रतिको सामूहिक प्रतिबद्धतालाई पुनः उजागर गरेको छ।









