गेजिङमा समीक्षा बैठक, नयाँ नेताहरू पार्टीमा प्रवेश
गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेशका अध्यक्ष डी.आर. थापाले पार्टी पदाधिकारीसहित गेजिङ जिल्लाको भ्रमण गरी सांगठनिक अवस्थाको समीक्षा गरेका छन्। पार्टीको तृणमूल (जसलाई ग्रासरुट भनिन्छ) नेटवर्कलाई थप मजबुत र गतिशील बनाउने उद्देश्यले यो भ्रमण गरिएको भाजपाले जनाएको छ।
भ्रमणका क्रममा आयोजित जिल्लास्तरीय समीक्षा बैठकमा प्रदेश महासचिव दिनेशचन्द्र नेपाल, प्रदेश सचिवहरू विजय सुब्बा, निरेन भण्डारी र साङ्गे पुल्गर, जिल्ला अध्यक्ष डिगुम लिम्बूसहित जिल्ला कार्यसमितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकमा प्रदेश अध्यक्ष थापाले जिल्ला कार्यसमितिले हालसम्म सञ्चालन गरेका सांगठनिक गतिविधिहरूको विस्तृत समीक्षा गरे। उनले बुथ, मण्डल र जिल्ला तहसम्म पार्टीको संरचनालाई अझ सशक्त र प्रभावकारी बनाउने रणनीतिबारे आवश्यक दिशा–निर्देशन दिएका छन्।
”सङ्गठन विस्तारका लागि समाजका हरेक वर्गसम्म पुग्नु आवश्यक छ। पार्टीका आगामी जनसम्पर्क र सांगठनिक कार्यक्रमहरूमा कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नुपर्छ,” अध्यक्ष थापाले बैठकमा भने।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्र सरकारका जनकल्याणकारी योजनाहरू र विकासको दूरगामी दृष्टिकोणलाई आम नागरिकको घरदैलोसम्म पुर्याउन जिल्ला टोलीलाई नयाँ उत्साहका साथ काम गर्न आग्रह गरे।
याङथाङका युवा नेताहरू भाजपामा
यसैबीच, समीक्षा बैठककै अवसरमा याङथाङ निर्वाचन क्षेत्रका श्याम लिम्बू र सुहाङ लिम्बू विधिवत् रूपमा भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्।
भाजपाको विचारधारा र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वबाट प्रभावित भई पार्टीमा आबद्ध भएका नवप्रवेशीहरूलाई प्रदेश अध्यक्ष थापा र अन्य वरिष्ठ नेताहरूले स्वागत गरे। उनीहरूको आगमनले गेजिङ जिल्लामा पार्टीको सांगठनिक आधार अझ बलियो हुने विश्वास भाजपाले लिएको छ।











