​सिक्किम निर्वाचन समीक्षा: नाम्ची जिल्लामा हालसम्म १ लाख ८ हजारभन्दा बढी मतदाता गणना फारम वितरण

3eed05d0-11cd-4341-bc1b-3f87765d87e7

नाम्ची: सिक्किम राज्यमा मतदाता सूचीलाई पूर्ण रूपमा सच्याउने अनि नयाँ मतदाताहरूलाई समेट्ने उद्देश्यका साथ भारत निर्वाचन आयोगको निर्देशनमा सुरु भएको ‘विशेष सघन परिमार्जन अभियान २०२६’ को तेस्रो चरण अन्तर्गत नाम्ची जिल्लामा काम तीव्र गतिमा अघि बढिरहेको छ। जिल्लाका विभिन्न बुथ लेभल अधिकारीहरू घर-घरै पुगेर मतदाता गणना फारम (Enumeration Forms) बाँड्ने र संकलन गर्ने कार्यमा जुटेका छन्। यसै क्रममा अभियान सुरु भएको १६औँ दिन अर्थात् आज १५ जुनसम्ममा नाम्ची जिल्लाभरि कूल १ लाख ८ हजार ५ सय ९८ वटा फारम वितरण गरी ९८.१४ प्रतिशत सफलता हासिल भइसकेको जिल्ला सूचना एवं जनसम्पर्क विभाग (IPR) ले जनाएको छ।
​जिल्लाका निर्वाचन क्षेत्रहरूका आधारमा हेर्ने हो भने फारम वितरणमा रङ्गाङ-याङ्गाङ क्षेत्रले शतप्रतिशत (१००%) लक्ष्य पूरा गरेर सबैभन्दा अघि देखिएको छ, जहाँ १५ हजार ४ सय ४९ वटा फारम बाँडिसकिएको छ। यसै गरी बारफुङ क्षेत्रमा १५ हजार ९ सय ८२ (९७.६०%), पोकलोक-कामराङमा १६ हजार ५ सय ७१ (९७.७५%), नाम्ची-सिङ्गीथाङमा १२ हजार ९ सय ५३ (९५.७४%), मेल्लीमा १५ हजार ८ सय २१ (९७.६५%), नामथाङ-रातेपानीमा १६ हजार ३ सय ३३ (९८.४३%) र तेमी-नाम्फिङ क्षेत्रमा १५ हजार ४ सय ८९ (९९.६१%) फारमहरू वितरण गरिएका छन्।
​निर्वाचन विभागका अनुसार बीएलओहरूको यो घरदैलो अभियान आगामी २८ जुन २०२६ सम्म जारी रहनेछ। यस अवधिमा अधिकारीहरूले फारम वितरण र संकलन मात्र गर्ने छैनन्, बरु मतदाताहरूको नाम, उमेर, ठेगाना, तस्बिर र परिचयपत्र नम्बर सच्याउने र अपडेट गर्ने काममा पनि मद्दत गर्नेछन्। जिल्ला निर्वाचन कार्यालयले राज्यका सम्पूर्ण योग्य मतदाताहरूलाई आफ्ना बीएलओहरूलाई पूर्ण सहयोग गर्न र समयमै फारम बुझाउन अपिल गरेको छ। कुनै पनि समस्या वा सोधपुछका लागि मतदाताहरूले आफ्ना बीएलओ, निर्वाचन दर्ता अधिकारी वा सहायक अधिकारीको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् भने ‘भोटर हेल्पलाइन एप’ वा टोल फ्री नम्बर १९५० को पनि प्रयोग गर्न सक्नेछन्। यस राष्ट्रिय कार्यलाई अझ बढी पारदर्शी र निष्पक्ष बनाउन विभिन्न राजनीतिक दलका बुथ लेभल एजेन्टहरूले पनि उत्तिकै सक्रियताका साथ सहयोग गरिरहेका छन्।

About Author

Advertisement